काठमाडौं, चैत २१ गते । उपाधि दौडमा रहेको सातदोवाटो युथ क्बललाई हराउँदै जावलाखेल शहिद स्मारक ‘ए’ डिभिजन लिगको शीर्षस्थानमा उक्लिएको छ । एन्फा कम्प्लेक्स मैदान सातदोवाटोमा मंगलबार भएको खेलमा जावलाखेलले सातदोवाटो युथ क्लबलाई २–१ गोलले हरायो । हारसँगै सातदोवाटो दोस्रो स्थानमा झरेको छ । जावलाखेलको जितमा फोडे फोफाना र एनकोटो मोसाबीले गोल गर्नुभयो । सातदोवाटोका दीपक सिंह ठकुरीले एक गोल फर्काउनुभयो । फोफानाले ४३ओं मिनेटमा पेनाल्टीमा गोल गर्दै जावलाखेलको उत्साह जगाउनुभएको थियो । मोसाबीले ५०औं मिनेटमा गोल गर्दे जावलाखेलको अग्रता दोब्बर बनाउनुभयो । जावलाखेलको लगातार दुई गोलपछि जोसिएको सातदोवाटोले ७५औं मिनेटमा गोल फर्काएपनि हार टार्न सकेन । दीपकले गोल गर्दै सातदोवाटोलाई खेलमा फर्काउने प्रयास गर्नुभएको थियो । जितसँगै शीर्षस्थानमा रहेको जावलाखेलको ६ खेलबाट १३ अंक छ । पराजित सातदोवाटो १२ अंकसहित दोस्रो स्थानमा छ । यसैगरी च्यासल मैदानमा भएको अर्को खेलमा एनआरटी र चर्च ब्वाइज क्लबले २(२ गोलको बराबरी खेल्दै अंक बाँडेको छ । चर्च ब्वाइजले सुरुवाती अग्रता लिएपनि जोगाउन सकेन । २०औं मिनेटमा आशिष चौधरीले गोल गर्दै चर्च ब्वाइजलाई अग्रता दिलाउनुभयो । ६२औं मिनेटमा कप्तान अनन्त तामाङले गोल गर्दै चर्च ब्वाइजको अग्रता दोब्बर बनाउनुभयो ।
त्यसपछि एनआरटीका रोशन खड्कीले ७१औं र सरोज तामाङले इन्जुरी समयमा गोल गर्दै खेललाई बराबरीमा ल्याउनुभएको थियो । बराबरीसँगै ६ खेलबाट १२ अंक बनाएको चर्च ब्वाइज तेस्रो स्थानमा छ । एनआरटीले समान खेलबाट तीन अंक बनाएको छ ।