काठमाडौं । नेपाल बैंकर्स संघ (एनबीए)ले बैशाख १ देखि ब्याजदर घटाउने निर्णय गरेको छ । बुधबार बिहान बसेको संघको बैठकले बैंक ब्याजदर १.०१ प्रतिशतले घटाएर एकल अंकमा झार्ने निर्णय गरेको हो । पछिल्लो समय बैंकको उच्च ब्याजदरकै कारण बजारमा ब्यापार मन्दी आएको भन्दै उद्योगी व्यवसायीहरु आन्दोलनमा उत्रिएका थिए । सोही अनुसार प्रधानमन्त्री, नवनियुक्त अर्थमन्त्री र स्वयं राष्ट्र बैंकका गभर्नरसमेत बैंकको ब्याजदर घटाउन लविङ गरिरहेका थिए । यसै क्रममा मंगलबार बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिविफिन)ले पनि बैशाख १ गतेदेखि बैंक ब्याजदर घटेर एकल अंकमा ल्याउनुपर्ने माग गरेको बताएको थियो ।
बैंकर्स संघले अब मुद्दति निक्षेपको ब्याजदर ११ प्रतिशतबाट घटेर ९.९ प्रतिशतमा पुग्नेगरी निर्णय गरेको छ । अब ब्यक्तिगत मुद्दती र संस्थागत मुद्दतिको ब्याजदर ७.९९ प्रतिशत बैशाख १ देखि कायम हुनेछ । निक्षेपको ब्याजदर घटेपछि यसले कर्जाको ब्याजदरमा पनि गिरावट ल्याउने बताईएको छ ।