काठमाडाैँ,। वैशाख ४ गते विभिन्न जिल्लाबाट आएर आन्दोलनरत मिटरब्याज पीडितको शान्तिबाटिकामा आयोजित शान्तिपूर्ण धर्ना तथा प्रदर्शनमाथि प्रहरीद्वारा गरिएको बर्बरतापूर्ण आक्रमणको नेपाल कम्युनिष्ट पार्टी घोर निन्दा एवं भत्सर्ना गर्दछ । प्रहरी दमनका कारण मिटरव्याज पीडित प्रदर्शनकारी तथा ६ किसान संगठनको तर्फबाट उनीहरुलाई ऐक्यवद्धता जनाउन पुगेका संगठनका प्रतिनिधिहरु घाइते भएका छन् । प्रहरीले शान्तिवाटिकाबाट सडकमा निस्कन खोज्दा नै धरपकड गर्दै अमानवीय र फासिष्ट शैलीमा दमन गर्दा अखिल नेपाल किसान यूनियनका ईञ्चार्ज तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष क. लोकनारायण सुवेदी लगायत दुई दर्जन प्रदर्शनकारी घाइते भएका छ भने करिब ३ दर्जन व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । घाइतेहरु ट्रमा सेन्टरमा उपचाररत रहेको र पक्राउ परेका प्रदर्शनकारीलाई महेन्द्र पुलिस क्लबमा राखिएको छ । घाइते प्रदर्शनकारीको सम्पूर्ण उपचार सरकारले गर्न र पक्राउ परेका सम्पूर्णलाई अविलम्ब र निःशर्त रिहाइ गर्न नेपाल कम्युनिष्ट पार्टी जोडदार माग गर्दछ ।