बारा,। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान गठबन्धन सरकार कायमै रहे ज्येष्ठनागरिक, एकल महिला तथा कमजोर आर्थिक अवस्था भएका अल्पसंख्यक नागरिकले पाउँदैआएको सामाजिक सुरक्षा भत्ता खतरामा पर्ने दावी गर्नुभएको छ । बारा क्षेत्र नम्बर २ मा बिहीबार आयोजित एमालेको चुनावी सभामा उहाँले सो कुरा बताउनुभएको हो ।
देशको आर्थिक अवस्था जर्जर र कमजोर बन्दैगएको र यस्तै अवस्था कायमै रहे मुलुक आर्थिक रुपले कमजोर बन्ने उहाँले बताउनुभयो । देशको अर्थतन्त्र सुधारमा सरकारले काम नगरेको उहाँले आरोप लगाउनुभयो । देश र जनताको पक्षमा काम गर्ने कुनै योजना सरकारसँग नरहेको उहाँले टिप्पणी गर्नुभयो ।
देशका सुरक्षाकर्मीले लगाउने पोशाक समेत खतरामा परेको उहाँले दावी गर्नुभयो । सुरक्षाकर्मीका लागि खरिद गरिने कपडा खरिदका लागि समेत आर्थिक कमजोरीका कारण सरकारलाई गाह्रो भएको उहाँले बताउनुभयो । एमाले नेतृत्वको सरकारले गरेका विकासका कामले देशको आर्थिक समृद्धिको शुरुवात भए पनि अहिलेको सरकारले देशको आर्थिक हैसियत चिन्ताजनक बनाएको उहाँले टिप्पणी गर्नुभयो ।
विकास र समृद्धिको क्षेत्रमा देखिने काम सरकारले गर्न नसकेको बताउँदै अध्यक्ष ओलीले देश बनाउने कामको योजना सरकारसँग नभएको दावी गर्नुभयो । कुनै भ्रममा नपरी एमालेको उम्मेदवारलाई भोट दिएर विजयी बनाउन उहाँले आग्रह गर्नुभयो । देश बनाउन मुलुकमा बलियो राष्ट्रिय शक्तिको खाँचो रहेको र त्यो शक्ति एमाले बन्ने उहाँले दावी गर्नुभयो ।
गठबन्धन सरकारले देशको आर्थिक अवस्था सुधार गर्नै नसक्ने दावी गर्नुहुँदै पूर्व प्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष ओलीले भन्नुभयो, “आर्थिक समृद्धिको योजना र भिजन एमालेसँग छ, सहयोग गर्न म सबैमा आव्हान गर्दछु ।” यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?