चितवन: चितवन निर्वाचन क्षेत्र नं. २ को मतगणना सम्पन्न भएको छ । सोमबार दिउँसोदेखि सुरु भएको मतगणना मङ्गलवार मध्याह्न सम्पन्न भएको हो । यसअघि वैशाख ४ गतेको आफ्नै रेकर्ड ब्रेक गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका रवि लामिछाने भारी मतान्तरले विजयी भएका छन् । चितवन क्षेत्र नं. २ मा खसेको जम्मा ७८ हजार २७७ मत गणना सकिँदा लामिछानेले ५४ हजार १७६ मत पाए । यो जम्मा खसेको सदर मतको ६९.२ प्रतिशतभन्दा होे । त्यसैगरी यहाँ कांग्रेसका जीतनारायण श्रेष्ठले ११ हजार २१४ मत पाउँदा एमालेका रामप्रसाद न्यौपानेले १० हजार ९३६ मत पाएका छन् । गत मङ्सिर ४ को निर्वाचनमा पनि लामिछाने भारी मतका साथ विजयी भएका थिए । अहिले उनले त्यति बेला पाएको सर्वाधिक मतको पनि रेकर्ड ब्रेक गरेका छन् । गत निर्वाचनमा ४९ हजार ३०० मत पाएर विजय हासिल गरेका थिए । अहिले उनले ४ हजार ८७४ मत पाए बढी पाए । लामिछानेले दोहोरो नागरिकता प्रयोग गरेपछि नागरिकता विवादमा यसअघि लामिछानेको पद गएसँगै चितवन–२ मा उपनिर्वाचन भएको हो । सर्वोच्च अदालतको आदेशअनुसार पद गए पनि आफ्नो नागरिकता जिल्ला प्रशासन कार्यालयबाट पुनः कायम गराएसँगै उनलाई चुनाव लड्ने बाटो खुला भएको थियो । उपनिर्वाचनबाट रास्वपाले तनहुँ १ मा समेत विजय हासिल गरेसँगै संसदमा उसको एक सिट थपिने भएको छ । उता बारा–१ मा भने रास्पवपाका रमेश खरेल चौंथो नम्बरमा निकै कम मतका साथ अगाडि बढ्दैछन् ।