सुर्खेत, कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले आज प्रदेश सभाबाट तेस्रो पटक विश्वासको मत लिँदै हुनुहुन्छ । एमालेले सरकारलाई दिएको समर्थन फिर्ता गरे पछि मुख्यमन्त्री शर्माले आज तेस्रो पटक विश्वासको मत लिन लाग्नु भएको हो ।
कर्णाली प्रदेश सभाका सचिव जीवराज बुढाथोकीले प्रदेश सभाको आज दिउँसो ३ बजे बस्ने बैठकमा मुख्यमन्त्री शर्माले विश्वासको मत लिने कार्यसूची रहेको जानकारी दिनुभयो । माओवादी केन्द्र संसदीय दलका नेता समेत रहनु भएका मुख्यमन्त्री शर्मा पुस २७ गते नेकपा एमाले, नेकपा (एकीकृत समाजवादी ) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को समर्थनमा मुख्यमन्त्रीमा नियुक्ति हुनु भएको थियो । उहाँले माघ ६ गते पहिलो पटक प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्नु भएको थियो । तर राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री शर्माले चैत १७ गते प्रदेश सभाबाट दोस्रो पटक विश्वासको मत लिनु भएको थियो ।
दोस्रो पटक विश्वासको मत लिँदा शर्मालाई राप्रपा बाहेक काँग्रेस, एमाले, एकीकृत समाजवादी र स्वतन्त्र प्रदेश सभा सदस्यले विश्वासको मत दिएका थिए । तर एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिए पछि मुख्यमन्त्री शर्माले फेरि विश्वासको लिनु परेको हो । केन्द्रमा बनेको एमाले–माओवादीसहित ७ दलको सत्ता गठबन्धन भत्किएसँगै कर्णालीमा पनि सत्ता समीकरण फेरिएको छ । सरकारमा काँग्रेस सहभागी बनेको छ ।
काँग्रेसबाट तीन जना मन्त्री सरकारमा सहभागी छन् । कर्णाली प्रदेश सभामा नेपाली काँग्रेसका १४, नेकपा एमालेका १०, नेकपा माओवादी केन्द्रका १३, एकीकृत समाजवादी, राप्रपा र स्वतन्त्र गरेर एक-एक जना प्रदेश सभा सदस्य रहेका छन् । यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?