काठमाडौं, वैशाख १७ गते । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव कायमै छ । गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा पानी पर्ने र रोकिने क्रम चलिरहेको मौसमविद् गङ्गा नगरकोटीले जानकारी दिनुभयो ।
काठमाडौँमा भने हिजो बेलुकापछि पानी पर्न रोकिएको भए पनि आज पनि हिजोको जस्तै गरी पानी पर्ने सम्भावना रहेको मौसमविद् नगरकोटीले बताउनुभयो । उहाँका अनुसार आज काठमाडाैँ सहित देशका धेरै ठाउँमा वर्षाको सम्भावना छ । काठमाडाैँ उपत्यकामा दिउँसोपछि मेघगर्जन र चट्याङसहित पानी पर्ने अनुमान गरिएको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाको पछिल्लो २० घण्टाको तथ्याङ्कअनुसार सबैभन्दा धेरै वर्षा काठमाडाैँ उपत्यकामा भएको छ । काठमाडौँ उपत्यकामा यो अवधिमा ४३ मिलिमिटर पानी परेको तथ्याङ्कले देखाएको छ । पश्चिमीसँगै स्थानीय वायु सक्रिय हुँदा देशभरको मौसम बदली भएको छ । हिजोदेखि धेरै ठाउँमा पानी परिरहेको छ ।
भोलि सोमबार पनि मधेस प्रदेशका एक–दुई ठाउँमा हावाहुरी चल्ने तथा केही ठाउँमा मेघगर्जन, चट्याङसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?