मणिपुर : पूर्वोत्तर भारतको मणिपुरमा आदिवासी र बहुसंख्यक मेइती समुदायबीच हिंसा भड्किएपछि स्थिति नियन्त्रणमा लिन सेना र असम राइफल्सका जवान खटिएका छन्।
सरकारले गम्भीर अवस्थामा देख्नेबित्तिकै उपद्रवीलाई गोली हान्न आदेश दिएको छ। राज्यका आठ जिल्लामा इम्फाल पश्चिम, काकचिङ, थौबल, जिरिबाम‚ विष्णुपुर‚ चुराचाँदपुर, कांगपोकपी र तेंगनौपाल जिल्लामा कर्फ्यू लगाइएको छ।
राज्यभर पाँच दिनसम्म मोबाइल इन्टरनेट सेवा बन्द गरिएको छ। नागा र कुकी आदिवासीले गरेको ऐक्यबद्धता जुलुसपछि बुधबार हिंसा भड्किएको थियो। हिंसा बढ्दै गएपछि नौ हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ।
सरकारले आदिवासी र बहुसंख्यक मेइती समुदायबीच हिंसा भड्किएपछि स्थिति नियन्त्रण गर्न गोली हान्न आदेश दिएको छ। सरकारले सम्झाउँदा र चेतावनी दिँदा पनि स्थिति नियन्त्रणमा नआए ‘देखेमा गोली हान्न’ कारबाही गर्न सकिने उल्लेख छ।
सेनाका प्रवक्ताले सेना र असम राइफल्स चुराचाँदपुर र इम्फाल उपत्यकाका धेरै क्षेत्रमा र काकचिङ जिल्लाको सुगनुमा पनि तैनाथ छन्।
मणिपुरको अवस्थाको अनुगमन गर्ने केन्द्रले र्यापिड एक्शन फोर्स (आरएएफ) को टोली पनि पठाएको छ। सुरक्षाबलले हिंसा प्रभावित क्षेत्रबाट हालसम्म ९ हजार मानिसलाई सुरक्षित स्थानमा सारेको प्रवक्ताले बताए।
उनले थप मानिसलाई सुरक्षित स्थानमा लाने काम भइरहेको बताए। चुराचाँदपुरमा सुरक्षित गृहमा करिब ५ हजार, इम्फाल उपत्यकामा २ हजार र तेनुगोपाल जिल्लाको सीमावर्ती सहर मोरेहमा २ हजार जनालाई सुरक्षित स्थानमा सारिएको प्रवक्ताले जानकारी दिए। यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?