काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक जटिलता रहेको बताएका छन्। बुधबार निर्मल लामा स्मृति दिवस कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले नक्कली भुटानी शरणार्थी प्रकरणतर्फ संकेत गर्दै राजनीतिक जटिलता आइरहेको बताएका हुन्।
‘जटिलता त राजनीतिमा आइरहन्छन्। अहिले पनि राजनीतिक जटिलता छ, तर अहिले नै म सबै कुरा भन्दिनँ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘सरकारले सानादेखि ठूलासम्म राम्रा काम गर्ने। नराम्रा गर्दै नगर्ने भनेर लागिरहेका छौँ।’
उनले सुशासन, न्याय, सामाजिक न्याय र समृद्धिका निम्ति इमान्दार क्रान्तिकारी, नागरिक समाज, बुद्धिजीवी र आम समुदायसँग अपिल गरेका छन्। प्रधानमन्त्री प्रचण्डले सुशासनका निम्ति गम्भीर भएर दृढ अठोटका साथ अगाडि बढेको बताए।
‘हाम्रो मन्त्रिमण्डलले सामाजिक न्याय र सुशासनको पक्षमा काम गर्ने भनेको छ,’ उनले भने, ‘सरकारले राम्रा काम गर्ने भनेको छ, सामाजिक न्यायका लागि काम गर्ने भनेको छ। त्यस दिशामा हामी अघि बढेका छौँ।’ यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?