जलेश्वर । महोत्तरी जिल्लामा केही दिनदेखि अचाक्ली बढेको गर्मीले बिरामीको सङ्ख्यामा वृद्धि भएको छ । पछिल्ला दिन यहाँ चालीस डिग्री, ४१ डिग्री र कहिलेकाहीँ ४२–४३ डिग्री तापक्रम पुगेको छ । यसबाट महोत्तरीको जनजीवन प्रभावित भएको छ भने यहाँका अस्पतालमा बिरामीको सङ्ख्या बढ्दै गएको छ ।
जिल्ला सदरमुकाम जलेश्वरमा अवस्थित प्रादेशिक अस्पताल जलेश्वरका मेडिकल सुपरिटेन्डेन्ट डा मनीषा भारद्वाजका अनुसार गर्मी बढेसँगै अस्पतालमा सेवा लिन आउने बिरामीको सङ्ख्या वृद्धि भएको छ । सामान्यरूपमा ७०–७५ उपचारका लागि आउने गरेकामा अहिले एक सय ५० देखि दुई सय ५० बिरामी उपचारका लागि आउने गरेको उहाँले बताउनुभयो ।
उहाँका अनुसार गर्मीले आऊ, ज्वरो, झाडापखाला, टाइफाइड, छालाजन्य रोग, पानीको कमी र जन्डिसका बिरामीको सङ्ख्या अत्यधिक बढेको हो । अधिकांश झाडापखालाका बिरामी अस्पतालमा आउने गरेका र अधिकांश आठ वर्षमुनिका बालबालिका र ५०–६० वर्षमाथिका वृद्धवृद्धा रहेका मेडिकल सुपरिटेन्डेन्ट डा भारद्वाजले बताउनुभयो ।
चर्को घाम र तातो हावाका कारण जिल्ला सदरमुकाम जलेश्वर नगर क्षेत्रसहित सहरी र ग्रामीण क्षेत्रमा दिउँसो सर्वसाधारणको आवतजावत घटेको छ ।
अत्यधिक गर्मीका कारण जिल्लाका ह्याण्डपाइप, कुवा, इनार, पोखरीलगायत पानीको मुहान सुक्न थालेका छन् । जलेश्वर नगरसहित जिल्लाका उत्तरवर्ती अधिकांश क्षेत्रका अनेकौँ हयाण्डपाइपबाट पानी आउन छाडेका छन् ।
चर्को घाम र तातो हावाका कारण बिहान १०–११ बजेदेखि अपराह्न ५ बजेसम्म प्रायः सडक सुनसान नै हुन्छन् भने अत्यावश्यक कामबाहेक सर्वसाधारण घरमै बस्छन् । गर्मीसँगै लामो खडेरीका कारण यहाँका अधिकांश किसानले धानको बीउ राख्न पाएका छैनन् । अकासे पानीको भरमा खेती गर्ने किसान वर्षा नभएकाले बीउ राख्न नपाउँदा खेत बाँझै रहने चिन्तामा छन् । गर्मीले गर्दा तरकारी बाली र फलफूलमा पनि प्रतिकूल प्रभाव पारेको छ । रासस यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?