काठमाडौं : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले गणतन्त्रको विकल्प पश्चगमन हुन नसक्ने बताएकी छन्। बिहीबार राष्ट्रिय समाचार समितिले गणतन्त्र दिवसको अवसरमा आयोजना गरेको ‘हाम्रो संस्कृति : हाम्रो सम्पदा’ नामक तस्बिर प्रदर्शनीमा बोल्दै मन्त्री शर्माले गणतन्त्र र लोकतन्त्रको विकल्प पश्चगमन हुन नसक्ने बताएकी हुन्। उनले लोकतन्त्र र गणतन्त्र नहुँदा मानिसलाई बोल्ने स्वतन्त्रतासमेत नभएको उल्लेख गर्दै उनले गणतन्त्रको विकल्पमा पुनः पछाडि फर्कन नसकिने स्पष्ट पारिन्। उनले विभिन्न भ्रष्टाचारको विषयहरु उठाएर गणतान्त्रिक व्यवस्थामाथि नै प्रश्न उठ्ने गरेको भन्दै ती समस्याको समाधान पनि गणतन्त्रभित्रै सम्भव भएको बताइन्। उनले भनिन् ‘राम्रोलाई राम्रो, नराम्रोलाई नराम्रो भन्न सक्ने कुरा पनि गणतन्त्रबाट सम्भव भएको हो। यदि गणतन्त्र, लोकतन्त्र हुन्नथ्यो, हामीलाई यसरी बोल्ने स्वतन्त्रता हुँदैनथ्यो भने हाम्रा शासक, सत्ता सञ्चालकहरुले गरेका कमजोरी र गल्तीलाई पनि हामी बाहिर बोल्न सक्दैनथ्यौँ होला। त्यसकारणले यहाँ भएका समस्याहरुलाई सुधार गर्ने भनेको पनि गणतन्त्रले नै हो। लोकतन्त्रले नै हो। गणतन्त्र, लोकतन्त्रको विकल्प फेरि पश्चगमन हुन सक्दैन। पछाडि फर्कने कुरा हुन सक्दैन।’ उनले सरकार सञ्चालनमा भएका त्रुटिहरुलाई व्यवस्थासँग जोडेर हेर्न नमिल्ने बताइन्। उनले गणतन्त्रले दलित, महिला लगायतका उत्पीडित समुदायहरुलाई राजनीतिको शीर्ष तहमा लगेको भन्दै व्यक्तिले गरेको गल्तीलाई प्रणालीसँग जोड्न नमिल्ने बताइन्।
उनले राज्यको माथिल्लो तहमा पुगेको कोही व्यक्ति बिग्रिएमा गणतन्त्रको दोष नभएको बताइन्।