काठमाडौं : लुम्बिनी प्रदेश सभाको बजेट अधिवेशन शुक्रबार शुरु हुँदैछ। प्रदेश प्रमुख अमिक शेरचनले दिउँसो १ बजेका लागि बैठक आह्वान गरेका छन्। बैठकको शुरुमा प्रदेश प्रमुखबाट प्राप्त अधिवेशन आह्वान सम्बन्धी पत्र र मन्त्रिपरिषदमा नियुक्ति र कार्यविभाजन सम्बन्धी पत्र सभामुखले पढेर सुनाउने कार्यसूची छ। त्यसपछि दलहरूको तर्फबाट प्रदेशसभा सदस्यले शुभकामना मन्तव्य राख्नेछन्। प्रदेश सभा सचिवालयका अनुसार शुक्रबारको बैठकमा मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले ‘औद्योगिक व्यवसाय सम्बन्धी प्रचलित प्रदेश कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ पेश गर्ने कार्यसूची छ। उनले ‘लुम्बिनी प्रशिक्षण प्रतिष्ठानको स्थापना, सञ्चालन तथा व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथि सैद्धान्तिक छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्। उक्त प्रस्तावलाई सभामुखले निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची पनि तय भएको छ।
