३१ असार २०८०,
काठमाडौं।
तेह्रथुमकाे आठराई गाउँपालिका-२ खम्लालुङ करीनाचौक बस्ने ६० वर्षीय देबी थलङको घरमा शुक्रबार दिउँसो पहिरो जाँदा पहिरोमा पुरिएर उनको मृत्यु भएको छ । पहिरोमा परी गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र संग्रान्ती आठराई हुँदै थप उपचारको लागि पाँचथर फिदिम पठाएकोमा उपचारको क्रममा मृत्यु भएको हो ।
साथै पहिरोबाट घर, नगद, अन्नपात, लत्ताकपडा समेत गरी करिब २६ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल क्षति भएको छ । त्यस्तै, म्याग्दीको अन्नपूर्ण गाउँपालिका-२ नैनिबगरस्थित बेनी जोमसोम सडक खण्ड अन्तगर्तको अन्नपूर्ण गाउँपालिका-३ गुइठे र रुप्से छहरा र रघुगंगा गाउँपालिका-३ बैसरीमा सडकमा शनिबार बिहान पहिरो जाँदा सडक पूर्ण रूपमा अवरोध भएको छ ।
पहिरो गएको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले सडक खुलाउने आवश्यक पहल गरिरहेको छ । यता रूकुम (पूर्व) काे सिस्ने गाउँपालिका-६ रानीकोटस्थित मध्य पहाडी राजमार्गमा पनि शनिबार बिहान पहिरो जाँदा सडक पूर्ण रुपमा अवरोध भएको छ । सकड अवरोध भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय रुकुम (पूर्व)बाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।