२०८० श्रावण ०२। भारतको उत्तर प्रदेशमा आइतबार ४० वटा बाँदर मृत अवस्थामा फेला परेका छन्। हापुड जिल्लाको गढमुक्तेश्वर वन क्षेत्रमा ती मृत बाँदरहरू फेला परेका भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।ती बाँदरलाई विष खुवाइएको हुन सक्ने आशंका वन विभागका अधिकारीहरूले गरेका छन्।
गढमुक्तेश्वर क्षेत्रको झाडीमा बाँदर मृत फेला परेपछि वन विभागलाई खबर गरिएको थियो। सुरूमा गाउँलेहरूले दुर्गन्ध आएपछि के हो भनेर प्रहरीलाई खबर गरेका थिए।वन विभागको टोलीले घटनास्थलमा तरबुजाका थुप्रै टुक्रा पनि फेला पारेको थियो। बाँदरहरूलाई नियतवंश विष खुवाएर मारिएको आशंका अधिकारीहरूले गरेका छन्। पुष्टि हुन भने बाँकी छ।
घटनास्थलमा भेटिएको खानेकुरामा विष मिसाइएको छ, कि छैन भनेर पत्ता लगाउन नमूना पनि संकलन गरिएको छ। वन विभागका अधिकारीहरूले केही मृत बाँदरको परीक्षणका लागि बरेलीस्थित भारतीय पशु चिकित्सा अनुसन्धान संस्थानमा पठाएका छन्।प्रहरीले बाँदरको मृत्युको अनुसन्धानका लागि मुद्दा दर्ता गरेको छ। :एजेन्सी।