२०८० श्रावण ०३ , काठमाडौं । आर.एस.डी.सी.(RSDC) लघुवित्तले गत आर्थिक वर्षको चौथो त्रैमास सम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । यस अवधिमा कम्पनीको खुद नाफा सामान्य अर्थात् ५.७१% ले बढेर ११ करोड १६ लाख ४५ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसै अवधिमा यसले १० करोड ५६ लाख १५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । एक वर्षको अवधिमा खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवै बढेकाले खुद नाफा बढ्न टेवा पुगेको हो ।
खुद ब्याज आम्दानी १९.२१% ले बढेर २८ करोड ४९ लाख ५२ हजार रुपैयाँ पुगेको छ । सञ्चालन नाफा पनि ५.८८% ले बढेर १५ करोड ९२ लाख ९४ हजार रुपैयाँ पुगेको छ । यता, चुक्ता पुँजी बढेअनुसार नाफा बढ्न नसक्दा यस कम्पनीको प्रतिसेयर आम्दानी भने सामान्य घटेको छ ।प्रतिसेयर नेटवर्थ १२३ रुपैयाँ ४६ पैसा छ । असार मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी २८ पैसाले घटेर १२ रुपैयाँ ८४ पैसमा आएको छ । अघिल्लो वर्ष यसको प्रतिसेयर आम्दानी १३ रुपैयाँ १२ पैसा थियो ।












