साउन ०५ काठमाडौँ।भारतले चामल निर्यातमा रोक लगाएको छ । भारतको वाणिज्य तथा वैदेशिक व्यापार विभागले बिहीबार एक सूचना जारी गर्दै चामल निर्यातमा रोक लगाएको जनाएको हो । भारतका प्रमुख धान उत्पादन क्षेत्रमा वर्षाको कमीपछि उत्पादन घट्ने प्रक्षेपणले भारतमा चामलको मूल्य बढ्न थालेसँगै सरकारले निर्यातमा प्रतिबन्ध लगाएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।भारतको उक्त निर्णयले नेपालमा पनि असर गर्नेछ । नेपालमा खाद्यान्नको प्रमुख स्रोतको रुपमा रहेको चामल भारतबाट आयात हुँदै आएको छ ।
नेपाल कृषिप्रधान मुलुक भए पनि अहिलेसम्म चामलमा आत्मनिर्भर बन्न सकेको छैन । आन्तरिक उत्पादनले नपुग्ने भएपछि विशेषगरी भारतबाट चामल आयात हुँदै आएको छ । भारतले चामल निर्यात बन्द गरेसँगै यसबाट नेपाली बजार पनि प्रत्यक्ष प्रभावित हुन सक्ने देखिएको छ । यता, यस वर्ष मनसुन पनि कम भइरहेको छ । यसबाट धान उत्पादन प्रभावित हुन सक्ने कृषि विज्ञहरुले अनुमान लगाइरहेका छन् ।