२०८० साउन १०, काठमाडौं । केन्द्रीय बैंकले मुद्दति निक्षेपमा ४१ करोड रुपैयाँ लगानी गर्ने भएको छ । राष्ट्र बैंकले आफ्नो उपदान तथा पेन्सन कोषमा रहेको रकम बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा लगानी गर्न लागेको जानकारी दिएको छ । केन्द्रीय बैंकले २०८० साउन १६ गतेदेखि २०८१ साउन १६ गतेसम्म मुद्दति निक्षेपमा लगानी गर्न लागेको हो । मुद्दति निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्थाले साउन १२ गते बिहान १० बजेदेखि बेलुका ७ बजेसम्म आफूले लिन चाहेको रकम तथा उक्त रकमका लागि प्रस्ताव गरिएको ब्याजदर समेत खुलाए पेश गर्नुपर्नेछ ।
राष्ट्र बैंकले ‘क’ वर्गका वाणिज्य बैंकमा ३२ करोड ८० लाख रुपैयाँ, ‘ख’ वर्गको विकास बैंकमा ६ करोड १५ लाख रुपैयाँ ‘ग’ वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीहरुमा २ करोड ५ लाख रुपैयाँ लगानी गर्न लागेको हो । मुद्दति आवेदन दिनका लागि बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको २ वर्ष हुनुपर्ने, निष्कृर्य कर्जा कुल कर्जा सापटको ५% भन्दा कम भएको हुनुपर्नेछ । यसैगरी, रियल स्टेट कर्जा बैंकबाट तोकिएको सीमा भन्दा बढी नभएको हुनुपर्ने लगायतका नियम केन्द्रीय बैंकले तोकेको छ ।