२०८० साउन ३१,काठमाडौं । रिलायबल नेपाल लाइफ इन्सुरेन्सको आइ पी ओ बुधबार साउन ३१ गते बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक सिभिल क्यापिटलका अनुसार बुधबार साँझ ५.३० बजे सिटिसी मल सुन्धारा, काठमाडौंमा रहेको आफ्नै कार्यालयमा आइपीओ बाँडफाँड गर्ने समय तालिका तय भएको छ ।
यता, रिलायबलकोे आइ पी ओ हात पार्न भाग्यकै भरपर्नु पर्नेछ । यसमा मागभन्दा १.८२ गुणा बढी आवेदन परेको छ । यसर्थ गोलाप्रथाबाट आइपीओ बाँडफाँड हुनेछ । यसमा १४ लाख ७७ हजार ८७७ जनाले कुल १ करोड ७४ लाख ८६ हजार २८० कित्ताको लागि आवेदन दिएका छन् । जसमा ९ लाख ६० हजारले सेयर हात पार्नेछन् ।
बाँकी ५ लाख १७ हजार ८७७ जनाको भने हात खाली हुनेछ । कम्पनीले साउन २३ गतेदेखि २६ गतेसम्म फेस भ्याल्यू १०० रुपैयाँमा १५७ रुपैयाँ प्रिमियम थप गरेर प्रतिकित्ता २५७ रुपैयाँको दरले सर्व-साधारणका लागि ९६ लाख कित्ता सेयर बिक्री खुला गरेको थियो ।