७ भदाै,बारा। बारामा तीर्थयात्री बोकेको बस दुर्घटनामा घाइते भएका १ जनाको उपचारका क्रममा मृत्यु भएको छ । योसँगै उक्त दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या ७ पुगेको छ । ३ जनाको घटनास्थलमा तथा ४ जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए ।
काठमाडौंबाट जनकपुरतर्फ जाँदै गरेको मधेस प्रदेश ३००१ ख ७९९४ नम्बरको बस आज बिहान २ बजे बाराको जितपुर सिमरा उप-महानगरपालिका–२२ पूर्वपश्चिम लोकराजमार्गको चुरियामाई नजिक दुर्घटना भएको हो । मृत्यु हुनेमा महोत्तरीको लोहारपट्टीका ४१ वर्षीय विजयलाल पण्डित तथा भारतको राजस्थानका ६७ वर्षीय बहादुर सिंह र ६५ वर्षीया मीरादेवी सिंह रहेका डि.एस.पी न्यौपानेले बताए । बाँकी ४ जनाको सनाखत हुन बाँकी छ । दुर्घटनामा ३ नेपाली तथा १४ भारतीय नागरिक घाइते भएका छन् । उनीहरु पशुपतिनाथको दर्शन गरी फर्किदै थिए । रासस।