१४, भदाै काठमाडौं । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने जनैपूर्णिमा र रक्षाबन्धन पर्व आज देशभर मनाइँदै छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन् ।
तागाधारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं डोरो (रक्षासूत्र) धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ । जनैपूर्णिमाको दिन क्वाँटी खाने प्रचलन छ ।
विभिन्न किसिमकका गेडागुडी मिसाइ भिजाएर टुसा उमारेर बनाइएको क्वाँटीले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षायामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रदेखि नै तापको सञ्चार गर्छ । क्वाँटीको रसले खाएमा शरीरमा रोग प्रतिरोधी क्षमता वृद्धि गर्छ ।तराई क्षेत्रमा आजै दिदीबहिनीले दाजुभाइलाई राखी बाँधिदिएर राखी मनाइन्छ । यसबाट दिदीबहिनी र दाजुभाइका बीचमा प्रेम बढ्ने मान्यता छ । आजकै दिन गाइजात्रा पर्व पनि मनाइँदै छ ।