२ कात्तिक , काठमाडौं । काठमाडौं महानगरपालिका-१६ माछापोखरी कुमारीस्थानबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ १ ग्राम ८० मिलिग्रामसहित सोही ठाउँ बस्ने सिन्धुपाल्चोक घर भएका ३५ वर्षीय क्षिरिङ्ग लामासमेत ४ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले क्षीरिङ्गको कोठा तलासी गर्ने क्रममा उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
सुनसरी, धरान उपमहानगरपालिका-८ तिनकुनेबाट नियन्त्रित लागूऔषध स्पासमो ५ हजार ट्याब्लेटसहित सोही उपमहानगर-पालिका-९ बस्ने २० वर्षीय दिप तामाङलाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी तिनकुनेबाट खटिएको प्रहरीले प्रदेश १-०२-००१ ख ९६३६ को बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
बारा, सुवर्ण गाउँपालिका-७ संफुलवा र चौरहियाको बिचबाट करिब २५ किलोग्राम गाँजा बुधबार राति प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी बडकी फुलवरिया र बिओपि सशस्त्र बेसक्यामप संफुलवाबाट खटिएको संयुक्त गस्ती टोलीलाई देख्नासाथ ५ जना ब्यक्तिहरुले पछाडि भिरेको झोला फाली भागेपश्चात प्रहरीले उक्त झोला तलासी गर्दा उक्त परिमाणको गाँजा फेला पारी बरामद गरेको हो । हाल फरार व्यक्तिहरूको प्रहरीले खोजी गरिरहेको छ ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।