काठमाडौं । भारतले आन्तरिक बजारमा प्याजको मूल्यमा उच्च वृद्धि भएपछि निर्यात नियन्त्रण गर्ने भएको छ । भारत सरकारले पर्याप्त आन्तरिक उपलब्धता सुनिश्चित गर्न र म्याजको मूल्य स्थिर राख्नको लागि निर्यात नियन्त्रण गर्नेगरी नीति लिएको हो । भारत सरकारले आइतबारदेखि लागू हुने गरी प्याजको न्यूनतम निर्यात मूल्य प्रतिमेट्रिक टन ८०० अमेरिकी डलर अर्थात प्रतिकिलो ६७ भारतीय रुपैयाँ तोकेको छ ।उक्त निर्यात मूल्य आगामी डिसेम्बर ३१ सम्म लागू हुनेछ ।
यसअघि भारतले गत अगस्ट महिनादेखि प्याजमा ४०% निर्यात शुल्क लगाउँदै आएको छ । उक्त निर्यात शुल्क पनि आगामी डिसेम्बरसम्म कायम रहनेछ । निर्यात शुल्कसँगै फ्लोर प्राइस पनि तोकेपछि भारतले प्याजको निर्यात थप निरुत्साहित गर्ने भएको हो ।भारतका विभिन्न शहरहरुमा प्याजको खुद्रा मूल्य एक सातामै करिब दोब्बर वृद्धि भएको छ । एक साता अघि प्रतिकिलो २५ देखि ३० भारुमा बिक्री भइरहेको प्याज अहिले ५० देखि ६० भारु पुगेको छ ।
भारतको कदमले आन्तरिक मूल्य निणन्त्रणमा मद्दत गर्ने देखिएपनि अन्य एसियाली देशहरुमा भने प्याजको मूल्य वृद्धि हुने देखिन्छ । अन्य क्षेत्रीय निर्यातकर्ताहरुसँग प्याजको सीमित आपूर्ति मात्र रहेकाले माग धान्न समस्या हुन्छ । यता, निर्यात महशुलका कारण भारतीय प्याज महँगो पर्नेछ । बंगलादेश, नेपाल, मलेसिया, संयुक्त अरब इमिरेट्स र श्रीलंकालगायत देशहरु प्याजका लागि भारतीय ढुवानीमै निर्भर रहेका छन् । तसर्थ, यी देशहरुमा प्याज थप महँगो पर्ने देखिन्छ ।