१९ कात्तिक,काठमाडौँ । गैर – आवासीय नेपाली संघ (एनआरएनए) ले भूकम्प पीडितको राहत र उद्दार तथा सहयोगको लागि अपील गरेको छ । संघका अध्यक्ष विनोद कुँवर र महासचिव जानकी गुरुङले विज्ञप्ति जारी गर्दै विश्वभर फैलिएका राष्ट्रिय समन्वय परिषद्लाई सहयोगको लागि अपील गरेका छन् । शुक्रबार राति जाजरकोटको रामीडाँडा केन्द्र भएर गएको भूकम्पका पीडितको सहयोगको संघले अपील गर्दै स्थानीय आवश्यकताका आधारमा सहयोग गर्ने प्रतिवद्धता समेत जाहेर गरेको छ ।
विज्ञप्तिमा मृतकप्रति श्रद्धाञ्जली र घाइतेको स्वास्थ्यलाभको कामना गरिएको छ ।
जारी विज्ञप्तिमा भनिएको छ, “यस दुःखद घडीमा गैरआवासीय नेपाली संघ अन्य सहयोगी संस्थाहरुको सहकार्यमा स्थलगत अध्ययन गरी के-कस्ता सहयोग तथा उद्धार गर्दा बढी प्रभावकारी हुनुका साथै स्थानिय आवश्यकता पूरा गर्न सकिन्छ सोहि अनुसार राहत तथा उद्धार कार्यमा संलग्न हुनेछ र विश्वभर फैलिएर रहेका राष्ट्रिय समन्वय परिषद्हरु तथा सहयोगी मनहरु-लाई यस कार्यमा सहयोग गर्न संघ अपिल गर्दछ ।” अधिकांश घरहरु माटोको जाेडाईबाट निर्माण भएका कारण भूकम्पले धेरै घरहरु भत्किएपछि नागरिकहरु चौरमा बसेका र खोज तथा उद्दार कार्य जारी रहेकोले मृतकको संख्या बढ्न सक्ने भन्दै संघले प्रभावित क्षेत्रमा सहयोग आवश्यक रहेको विज्ञप्तिमा भनिएको छ ।