काठमाडौं, २६ कात्तिक, काठमाडौं।अवैध लागूऔषधसहित मोरङबाट २ जना, सर्लाहीबाट १ जना, रूपन्देहीबाट १ जना र दाङबाट १ जना गरी जम्मा ५ जना पक्राउ परेका छन् । मोरङ, बिराटनगर महानगरपालिका -१६ दरैयाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम ६० मिलिग्राम, नियन्त्रित लागूऔषध नाईट्रोसन १० ट्याब्लेट, डाईलेक्स डिसी २ बोतल र नगद १२ हजार रूपैयाँसहित बिराटनगर महानगरपालिक -४ बस्ने २८ वर्षीय आशिष कुमार भगत समेत २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
सर्लाही, हरिपुर नगरपालिका-४ बस्ने २८ वर्षीय रुन्ची देवी महतोलाई अवैध लागूऔषध गाँजा करिब २५ केजी र डिजिटल तराजु १ थानसहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा खाट मुनि लुकाई राखेको उक्त परिमाणको गाँजा र तराजु फेला पारी उनलाई पक्राउ गरेको हो । रूपन्देही, बुटवल उपमहानगरपालिका-११ देविनगरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ५ सय ८० मिलिग्राम-सहित पाल्पा रैनादेवी छहरा गाउँपालिका-४ घर भएका २७ वर्षीय अविषेक श्रेष्ठलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी देविनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
दाङ, घोराही उपमहानगरपालिका-१४ ढोडेनी बस्ने ३५ वर्षीय महेन्द्र चौधरीलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम १ सय ६० मिलिग्रामसहित आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । सवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।