८ मङ्सिर,काठमाडौं । उन्नति सहकार्य लघुवित्तको एफ’पी’ओ आज शुक्रबार मंसिर ८ गते बाँडफाँड हुँदैछ । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार शुक्रबार बिहान ९ बजे एफ’पी’ओ बाँडफाँड गर्ने तयारीमा छ । यता, उन्नतिको एफ’पी’ओ हात पार्न भाग्यकै भरपर्नु पर्नेछ । किनभने यसमा मागभन्दा ६९.७३ गुणा बढी आवेदन परेको छ । यसर्थ गोला- प्रथाबाट एफ’पी’ओ बाँडफाँड हुनेछ । यसमा ११ लाख २२ हजार ९११ जनाले कुल १ करोड २४ लाख ४३ हजार ६६० कित्ताको लागि आवेदन दिएका छन् । जसमा १७ हजार ८४५ जनाले मात्र सेयर हात पार्नेछन् । बाँकी ११ लाख ५ हजार ६६ जनाको भने हात खाली हुनेछ ।
साविकको उन्नति लघुवित्त र सहकार्य लघुवित्त एक-आपसमा गाभिए पश्चात बनेको उन्नति सहकार्य लघुवित्तको पुँजी संरचना संस्थापक समूहको ७५.४५% र सर्वसाधारणको २४.५५% कायम भएको थियो । उक्त पुँजी संरचना ऐन अनुसार मिलाउन यस लघु-वित्तले एफ’पी’ओ जारी गरेको हो । कम्तिमा ३०% सर्वसाधारणको हिस्सा हुनुपर्ने व्यवस्था छ । एफ’पी’ओ पछि संस्थापक हिस्सा घट्नेछ भने सर्वसाधारणको स्वामित्व बढ्नेछ । कम्पनीले कात्तिक २१ गतेदेखि २४ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँमा १ लाख ७८ हजार ४५१ कित्ता एफ’पी’ओ जारी गरेको थियो । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ९ बमोजिम सर्वसाधारणको पुँजी संरचना ३०% कायम गर्न लघुवित्तले एफ’पी’ओ ल्याएको हो ।