काठमाडौं, १३ मंसिर । काठमाडौं महानगरपालिका-३१ शंखमुलबाट १ हजार दरको नोट ५ थान र ५ सय दरको नोट १ थान गरी जम्मा ६ थान नक्कली जस्तो देखिने नोटसहित धादिङ गजुरी गाउँपालिका-४ घर भई काठमाडौं शंखमुल बस्ने २३ वर्षीय सन्तोष चेपाङलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।
उक्त ठाउँस्थित खाजा घरमा नक्कली जस्तो देखिने नोट बोकेको मानिस रहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त बानेश्वरबाट खटिएको प्रहरीले चेपाङलाई तलासी गर्दा उनको साथबाट उक्त नोट फेला पारी पक्राउ गरेको हो ।
कुटपिटबाट मृत्यु, कुटपिटमा संलग्न ७ जना नियन्त्रणमा —
घोडाघोडी नगरपालिका-२ बस्ने २६ वर्षीय मोहन अधिकारीको कुटपिटबाट गएराति मृत्यु भएको छ । कुटपिटमा संलग्न रहेको अभियोगमा लम्कीचुहा नगरपालिका-९ घोराघाट बस्ने २३ वर्षीय विवेक भुल समेत ७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
लम्कीचुहा नगरपालिका-९ घोराघाटस्थित आफन्तको विवाहमा आएका मोहनलाई विवेक लगायतका व्यक्तिहरूले कुटपिट गर्दा गम्भीर घाइते भई उपचारको लागि लालरत्न अस्पताल हुँदै टिकापुर अस्पताल कैलाली लगिएकोमा थप उपचारको क्रममा मृत्यु भएको थियो । सबै घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।