१४ मंसिर, काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले ५० जना प्रहरी कर्मचारीहरुलाई ट्राफिक नियन्त्रण तालिम प्रदान गरेको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा सो कार्यालयमा संचालित ट्राफिक नियन्त्रण तालिम १४९औं समूह अन्तर्गत उनीहरुलाई उक्त तालिम प्रदान गरिएको हो ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा बिहीबार आयोजित तालिम समापन कार्यक्रममा सोही कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक पोषराज पोखरेलले तालिम समापन गर्दै प्रशिक्षार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभयो ।
उक्त अवसरमा प्रहरी नायव महानिरीक्षक पोखरेलले सेवा प्रवाहको क्रममा आफ्नो बोली, बचन र व्यवहारलाई अझ उत्कृष्ट बनाउनुपर्ने उल्लेख गर्दै तालिमबाट प्राप्त व्यावसायिक सीप एवम् क्षमतालाई संगठनको उद्देश्य अनुरूप प्रयोग गर्न प्रशिक्षार्थीहरुलाई निर्देशन दिनुभयो ।
कार्यक्रममा तालिम संयोजक प्रहरी नायव उपरीक्षक दलराम टमटाले तालिम सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्दै गत असोज ७ गतेदेखि संचालित उक्त तालिममा प्रहरी हवल्दार १ जना, प्रहरी सहायक हवल्दार १२ जना र प्रहरी जवान ३७ जना गरी कुल ५० जना प्रशिक्षार्थीहरुले तालिम हासिल गरेको जानकारी दिनुभयो ।
अवैध लागूऔषधसहित ४ जना पक्राउ—–
मोरङ, विराटनगर महानगरपालिका-१६ हुलास चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६८ मिलिग्रामसहित सोही महानगरपालिका-२ बस्ने २४ वर्षीय अंकित घिमिरे समेत २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण व्यूरो विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्रदेश ०२-०२८प ७६७६ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
सिरहा, लहान नगरपालिका-१ लोकतन्त्र चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम र डिजिटल तराजु १ थानसहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-११ बस्ने ३२ वर्षीय संजय चौधरी र २० वर्षीय अभिशेख चौधरी रहेका छन् । ईलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।