२४ पुष, काठमाडौँ । सोमबार काठमाडौंमा डेब्यू अभिनेता सन्तोष अधिकारीको ‘चित्रा’ फिल्मको प्रिमियर भएको छ। प्रिमियरमा नेपाली फिल्मकर्मी तथा पत्रकारहरुको बाक्लो उपस्थिति रहेको थियो। फिल्मको प्रिमियरमा गौरी मल्ल, भुवन केसी, नरेश पौड्याल, निर्मल शर्मा, प्रदिप भारद्वाज, निर्मात्री शर्मिला पाण्डे, निर्देशक दीपेन्द्र के खनाल, ज्ञानेन्द्र देउजा, नवल नेपाल, निर्देशक तथा अभिनेता सुरज पाण्डे कलाकार नरेन खड्का, रोहित रुम्बा, निर्मल शर्मा गैंडा लगायत उपस्थित थिए। प्रिमियरपछि प्रतिक्रिया दिएका अधिकांशले फिल्म राम्रो बनेको र कथा मनपरेको बताएका थिए।
चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले डेब्यू अभिनेता सन्तोषको काम डेब्यू अभिनेताको जस्तो नभइ काम गरिरहेका कलाकारको जस्तै भएको प्रतिक्रिया दिए। ‘हेर्दाखेरी नव नायकको अभिनय भन्ने देखिदैन, सन्तोषको अभिनय पहिलादेखि गरिराखेको देखिन्छ,, बधाईं छ मेरो भाइलाई’, भुवनले भने। यसैगरी उनले प्रमोद अग्रहरीको पनि तारिफ गरे।
केसीले फिल्म रमाइलो भएको बताउँदै आफू इमोशनल बनेको बताए।
यसैगरी आफूलाई फिल्मको कथा मनपरेको बताएकी अभिनेत्री गौरी मल्लले फिल्ममा छोरीको भूमिकामा काम गरेका आयुशी ढकाल र सिम्रन खड्काको अभिनयबाट प्रभावित बनिन्। आफूलाई फिल्मको कथा मनपरेको उनको प्रतिक्रिया थियो। यस्तै, निर्मात्री, निर्देशक तथा अभिनेत्री दीपाश्री निरौलाले डेब्यू अभिनेता सन्तोषलाई राम्रो काम गरेकोमा बधाईं दिइन्। उनले पनि बाल कलाकार आयुशी ढकाल र अभिनेत्री सिम्रन खड्काको तारिफ गरिन्।
त्यसैगरी निर्देशक नरेश पौड्यालले डेब्यू अभिनेता अधिकारीले फिल्ममा ‘इमोशन’मा विविधता दिएको भन्दै तारिफ गरे। उनले अन्य कलाकारको काम राम्रो रहेको बताउँदै प्रमोद र सिम्रन खड्काको अभिनय बहुतै राम्रो लागेको बताए। यस्तै किसिमको समान प्रतिक्रिया प्रिमियरमा सहभागीहरु -को थियो। घनश्याम लामिछाने निर्देशित फिल्म पौस २७ गते शुक्रबारबाट सार्वजनिक प्रदर्शनमा आउँदैछ।











