काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले धितोपत्र बजारमा हुने हेराफेरी तथा इन्साइडर ट्रेडिङ लगायतका अनैतिक गतिविधि नियन्त्रण गर्नुपर्नेमा जोड दिएका छन् । नेपाल स्टक ब्रोकर्स एसोसिएसनको ३० औं वार्षिक साधारण-सभाको उद्घाटनका क्रममा बिहीबार आयोजित कार्यक्रममा उनले इन्साइडर ट्रेडिङ, सेयर कर्नरिङ, सर्कुलर ट्रेडिङ जस्ता अनैतिक प्रचलनलाई कडाइका साथ नियन्त्रण गर्ने प्रतिवद्धता जनाएका हुन् । सेबोनका अध्यक्ष श्रेष्ठले धितोपत्र बजारलाई निष्पक्ष, पारदर्शी र सुशासित बनाउने मूल नाराका साथ बोर्ड अघि बढेकाले कुनै पनि प्रकारका अनौतिक गतिविधि हुन नदिने प्रष्ट पारे ।“निष्पक्ष, पारदर्शी र लचिलो पुँजी बजार” भन्ने नारामा जोड दिँदै सर्वसाधारण लगानीकर्ताको हित संरक्षणलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरे ।
उनले बजारमा हुने हेराफेरी, इन्साइडर ट्रेडिङ, सेयर कर्नरिङ, सर्कुलर ट्रेडिङ जस्ता अनैतिक प्रचलनलाई कडाइका साथ नियन्त्रण गर्नुपर्नेमा जोड दिए । साथै उनले धितोपत्र दलाललाई पनि आम लगानीकर्ताको प्रमुख चासोको विषय भएकाले कारोबार भएका धितोपत्रको समयमै क्लियरिङ र सेटलमेन्टमा विशेष ध्यान दिन आग्रह गरे । अध्यक्ष श्रेष्ठले नेपालको पुँजी बजारको वृद्धि र सुधारमा धितोपत्र दलालहरूले खेलेको भूमिकाको प्रशंसा गरे । उनले २ छुट्टाछुट्टै संघसंस्थालाई एकीकरण गरी एउटै एकीकृत संस्थामा परिणत भएकोमा बधाई तथा शुभकामना व्यक्त गरे ।