ADVERTISEMENT
ADVERTISEMENT
म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ कुइने मङ्गलेमा निर्माण भएको २१.३ मेगावाट क्षमताको ठूलोखोला जलविद्युत् आयोजनाको परीक्षण उत्पादन सुरू भएको छ । संयुक्त ऊर्जा लिमिटेड प्रवर्द्धक रहेको आयोजनाले १५ दिनको परीक्षण उत्पादन सफल भएपछि भदौ १ गतेदेखि व्यापारिक उत्पादन सुरू गर्ने समयतालिका बनाएको छ । संयुक्त ऊर्जाका प्लान्ट म्यानेजर बिनोद पौडेलले हाल आधा क्षमता १२.५ मेगावाट मात्र उत्पादन गरेको आयोजनाले भदौको सुरूदेखि पूर्ण क्षमतामा व्यावसायिक रूपमा सञ्चालनमा आउने जानकारी दिए । “आयोजनालाई पूर्ण क्षमतामा चलाउन अहिले पानीको समस्या छैन”, उनले भने, “विद्युत् गृहमा जडित मेसिनको कम्पन (भाइब्रेसन) लगायतका विषय परीक्षणकै क्रममा रहेकाले उत्पादन क्षमतामा घटबढ भएको हो ।”
कुइनेमङ्गले र चिमखोलाको सीमाक्षेत्र फेदीमा बाँध रहेको यस आयोजनामा सुरूङ र पेनस्टक पाइप हुँदै ल्याइएको पानीलाई छरीस्थित रघुगङ्गा नदी किनारमा निर्माण भएको विद्युत्गृहमा खसालेर विद्युत् उत्पादन थालिएको हो । यस आयोजनामा तीन हजार ३८२ मिटर लामो सुरूङ र ६३४ मिटर पेनस्टक पाइप लाइनबाट विद्युत् गृहमा पानी खसालिएको छ ।आयोजनाबाट उत्पादित विद्युत् २३ किलोमिटर दूरीमा रघुगङ्गा गाउँपालिका–३ तिल्केनी चौर स्थित राहुघाट जलविद्युत् आयोजनाको स्विचयार्ड बाट राष्ट्रिय प्रणालीमा जोडिएको छ । गैरआवासीय नेपाली र नेपालीहरूको ३० प्रतिशत लगानी रहेको यस आयोजनामा ७० प्रतिशत बैंक तथा वित्तीय संस्थाको लगानी छ । रु तीन अर्ब ६० करोड लागत अनुमान गरिएको यस आयोजनामा नेपाल बैंक लिमिटेडको नेतृत्वमा सनराईज बैंक, राष्ट्रिय वाणिज्य बैंक, सिद्धार्थ बैंकले लगानी गरेको आयोजनाले जनाएको छ । आयोजनामा सिभिल तर्फ साकुरा पावर-ट्रिपल एस जेभीले ठेक्का लिएको थियो भने इलेक्टो मेकानिकल तर्फको ठेक्का टोयर हाइड्रोले लिएको थियो ।











