काठमाडौं/ राजन थापा_ तारकेश्वर सामुदायिक विद्यालय समितिको आयोजनामा आइतबार तारकेश्वर नगरपालिकाको सभाहलमा लोक नृत्य प्रतियोगिता–२०८२ सम्पन्न भएको छ। कार्यक्रममा नगर प्रमुख कृष्ण हरि महर्जन प्रमुख अतिथि तथा समितिका अध्यक्ष कृष्ण ओझा अध्यक्ष रहनुभएको थियो।
प्रतियोगिताको उद्घाटन नगर प्रमुख महर्जन र अभिनेत्री/नृत्यकार मिथिला शर्माले संयुक्त रूपमा गर्नुभएको थियो। १२ माध्यमिक विद्यालयका १७ टोली सहभागी बनेका प्रतियोगितामा शिक्षक समूहका ५ टोली र विद्यार्थी समूहका १२ टोलीबीच छुट्टाछुट्टै प्रतिस्पर्धा गराइएको थियो। निर्णायकको भूमिकामा अभिनेत्री/नृत्यकार मिथिला शर्मा र पद्म कन्या क्याम्पस नृत्य विभाग प्रमुख प्रा. प्रकाश तुलाधर रहेका थिए।
निकै प्रतिस्पर्धात्मक वातावरणमा सम्पन्न प्रतियोगितामा — शिक्षक समूहतर्फ : फुटुङ मा.वि. प्रथम, पुरानो गुहेश्वरी मा.वि. द्वितीय, मनमैजु मा.वि. तृतीय, कालिकाशरण मा.वि. र कालीदेवी मा.वि. सान्त्वना।विद्यार्थी समूहतर्फ : पुरानो गुहेश्वरी मा.वि. प्रथम, मनमैजु मा.वि. द्वितीय, कालिकाशरण मा.वि. तृतीय, फुटुङ मा.वि. सान्त्वना। बिजेताहरुलाई नगर प्रमुख, निर्णायक तथा वडा अध्यक्षहरूले प्रमाणपत्र, पदक र शिल्डद्वारा सम्मान गरे। कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख महर्जनले तारकेश्वरका सामुदायिक विद्यालयहरू पढाइ मात्र नभई कला र खेलकुदमा पनि उत्कृष्ट रहेको उल्लेख गर्नुभयो।निर्णायक प्रा. तुलाधरले स्थानीय तहस्तरमा सामुदायिक विद्यालयबीचको नृत्य प्रतियोगिता आयोजना गर्नेमा तारकेश्वर नगरपालिका अग्रणी बनेको बताउनुभयो।
समितिका अध्यक्ष कृष्ण ओझाले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा वडा अध्यक्ष/सदस्य, शिक्षा समिति, शिक्षा अधिकारी, विद्यालय प्रमुख, शिक्षक, कर्मचारी र विद्यार्थीको उत्साहपूर्ण सहभागिता रहेको थियो। सचिव राजु नेपालले संयोजन गर्नुभएको कार्यक्रममा संचालन ECD संयोजक अनामिका आचार्यले गर्नुभएको हो।












