ADVERTISEMENT
ADVERTISEMENT
काठमाडौं ,२५ असाेज। जेन–जी आन्दोलन र त्यसपछि विकसित राजनीतिक घटनाक्रमले नेपालको लोकतान्त्रिक यात्रामा नयाँ मोड सिर्जना गरेको छ । प्रतिनिधिसभाको विघटन, संक्रमणकालीन सरकार, निर्वाचनको तयारी, राजनीतिक दलहरूको जिम्मेवारी रजनआकांक्षा बीचको द्वन्द्व अहिलेको यथार्थ बनेको छ । आन्दोलनको मर्म र यसको राजनीतिक निहितार्थ बुझ्न नसके लोकतान्त्रिक प्रणाली फेरि एक पटक अन्योलको दलदलमा फस्न सक्छ । त्यसैले अहिलेको परिस्थितिको मूल्याङ्कन केवल भावनामा होइन, तथ्य, इतिहास र सन्दर्भका आधारमा गर्न आवश्यक छ । जेन–जी आन्दोलन कुनै आकस्मिक आक्रोश थिएन । यो लामो समयदेखि बढ्दै आएको भ्रष्टाचार, अनियमितता, राजनीतिक अस्थिरता र जिम्मेवारी विहीन नेतृत्वविरुद्धको जनसंगठित असन्तोष थियो ।
जब सत्तामा रहेका दलहरू जनताको माग र आकांक्षाबाट क्रमशः टाढिँदै गए, जब राज्य संयन्त्र जनसेवाबाट विचलित भएर स्वार्थ र सत्ताको बन्दी बन्यो तब नयाँ पुस्ताले सडकमा आवाज उठाउन बाध्य भयो । यस आन्दोलनले जनताले फेरि एक पटक लोकतन्त्रको वास्तविक अर्थ स्मरण गरायो जनताको शासन, जनताको आवाज र जनताको उत्तरदायित्व ।
यद्यपि आन्दोलनका क्रममा भएको हिंसा, तोडफोड र दमनले त्यसको औचित्य र मर्यादामा प्रश्न पनि उठायो । २३ भदौमा भएको प्रदर्शनमाथिको दमन र २४ भदौमा भएको लुटपाट, आगजनी र तोडफोड दुवै लोकतान्त्रिक समाजका दृष्टिले अस्वीकार्य छन् । विधिको शासन भनेको न त सत्ताको मनपरी हो न त जनताको अराजकता त्यसैले यस्ता घटनाको निष्पक्ष छानबिन र जवाफदेहीता अब टार्न नसकिने राष्ट्रिय आवश्यकता बनेको छ ।
राजनीतिक संक्रमणका यस्ता संवेदनशील क्षणमा सरकारले अध्यादेशमार्फत मतदाता नामावली दर्ताको कानुनी ढोका खुला गरेर जनसहभागिता सुनिश्चित गर्न खोजेको छ । निर्वाचन आयोगले समेत आफ्नो कार्यतालिका तय गरेर चुनावको मिति घोषणा गरेको छ । यी दुवै संस्थाका कदम सकारात्मक सन्देश हुन् । तर निर्वाचनको सफलता केवल कानुनी र प्राविधिक तयारीमा होइन राजनीतिक वातावरण र विश्वासमा निर्भर हुन्छ । यदि देशमा भय, अविश्वास र असुरक्षा छ भने कुनै पनि चुनाव लोकतान्त्रिक उत्सव होइन केवल औपचारिक अभ्यास मात्र हुन्छ । लोकतन्त्रमा निर्वाचनका मुख्य पात्र राजनीतिक दल र उम्मेदवार नै हुन् । दलहरूको क्रियाशीलताबाट मतदातामा चेतना जाग्छ सहभागिताको भावना बढ्छ र लोकतान्त्रिक प्रतिस्पर्धा सशक्त बन्छ । तर अहिलेका पुराना दलहरू अलमलमा छन् । उनीहरू आन्दोलनपछिका मनोवैज्ञानिक र राजनीतिक आघातबाट अझै निको भएका छैनन् । जसरी उनीहरूको नेतृत्व भ्रष्टाचार, सत्ताको दुरुपयोग र नीति नैतिकताको पतनमा फसेको थियो त्यसले जनविश्वासका जरालाई हल्लाइदियो ।
नयाँ दलहरू दर्ता र सक्रियतामा लागेका छन् तर ती पनि जनविश्वास जित्ने अवस्थामा पुगेका छैनन् । यस्तो अवस्थामा आवश्यक कुरा प्रतिस्पर्धा होइन विश्वास निर्माण हो । लोकतान्त्रिक प्रणालीका लागि सबै दल (नयाँ वा पुराना) जनतासँगको सम्बन्ध पुनःस्थापित गर्न तयार हुनुपर्छ । त्यसका लागि निर्वाचनलाई अवसरका रूपमा लिन सकिन्छ । अहिले विघटित प्रतिनिधिसभाको कथा कुनै सामान्य घटना होइन । यो संसद् जनताले निर्वाचित गरेको थियो तर विघटनको निर्णय राजनीतिक असफलता र नीतिगत भ्रमको परिणाम बन्यो । जनप्रतिनिधिमूलक संस्था विघटन हुनु लोकतन्त्रको दुर्भाग्य हो । तर कहिलेकाहीँ यस्तो कदम पनि आवश्यक हुन्छ जब जनताको म्यान्डेट अपवित्र गरिन्छ । यही सन्दर्भमा अहिलेको संसद् विघटनलाई हेर्न सकिन्छ । यो दलभित्रका विवाद वा सत्तासंघर्षका कारण होइन, जनआन्दोलनको दबाब र सुधारको आवश्यकताबाट उत्पन्न परिस्थिति हो । नेपालको इतिहासमा संसद् विघटन र पुनःस्थापनाका धेरै अध्याय छन् । २०५१ सालमा सत्तारूढ दलभित्रको विवादले मध्यावधि चुनाव भएको थियो । २०५६ मा शीघ्र निर्वाचन भयो । २०५९ मा विघटित संसद् जनआन्दोलनबाट फर्कियो । २०७७ र २०७८ मा सर्वोच्च अदालतले संसद् पुनःस्थापना गरेर संवैधानिक मर्यादाको रक्षा गर्यो । यी सबै घटनाले एउटा कुरा स्पष्ट गर्छन् नेपालमा संसद् विघटनको कुनै स्थायी मापदण्ड छैन । यो हरेक पटक राजनीतिक परिस्थितिले नै निर्धारण गर्छ । अहिले पनि त्यही इतिहास दोहोरिएको छ ।











