काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औं राष्ट्रिय महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान प्रक्रिया सुरु भएको छ। पार्टीको केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बाका अनुसार तोकिएको समयअनुसार मतदान सञ्चालन भइरहेको छ। उनका अनुसार नेतृत्व चयनका लागि उम्मेदवारी मनोनयन दर्ता भइसकेको छ भने उम्मेदवारको अन्तिम नामावली पनि सार्वजनिक गरिएको छ। यस महाधिवेशनमार्फत ३०१ सदस्यीय केन्द्रीय कमिटी, २५ सदस्यीय लेखा आयोग र २५ सदस्यीय अनुशासन आयोग गरी कुल ३५१ पदका लागि निर्वाचन हुँदैछ।
एमालेले यसपटक महाधिवेशनमा पहिलोपटक विद्युतीय भोटिङ मेसिन प्रयोग गरेको छ। मतदानका लागि ८० वटा विद्युतीय भोटिङ मेसिनको व्यवस्था गरिएको छ। विद्युतीय भोटिङ मेसिन आपूर्तिकर्ता रामलक्ष्मण इनोभेसन प्रालिका सञ्चालक लक्ष्मण रिमालका अनुसार हाल मेसिनमा उम्मेदवारको नाम ‘इन्ट्री’ गर्ने कार्य भइरहेको छ।अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुँदैछ। महासचिव पदमा शंकर पोखरेल र सुरेन्द्र पाण्डे चुनावी मैदानमा छन्। मतदान प्रक्रियामा कुल २ हजार २६३ जना महाधिवेशन प्रतिनिधि सहभागी हुनेछन्।
यसैबीच, चर्चित गायिका ज्योती मगर पनि महाधिवेशन स्थलमा सक्रिय रूपमा चुनावी प्रचारमा जुटेकी छन्। उनले केन्द्रीय सदस्यका उम्मेदवार पूर्णबहादुर गुरूङ, किरण गुरूङलगायतको पक्षमा महाधिवेशन प्रतिनिधिसँग मत मागिरहेको देखिएको छ। एमालेको ११औं महाधिवेशनबाट चयन हुने नयाँ नेतृत्वले आगामी दिनमा पार्टीको राजनीतिक दिशा र रणनीति तय गर्ने अपेक्षा गरिएको छ।













