काठमाडौं। रिज लाइन इनर्जी लिमिटेडले यही माघ २८ गतेदेखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) गर्ने भएको छ। कम्पनीले प्रतिशेयर १०० रुपैयाँ दरका ११ लाख ८० हजार २६० कित्ता साधारण शेयर निष्कासन गर्दैछ, जसको कुल मूल्य ११ करोड ८० लाख २६ हजार रुपैयाँ रहेको छ।
यो आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। निष्कासन छिटोमा फागुन ४ गते र ढिलोमा फागुन १३ गते बन्द हुने कम्पनीले जनाएको छ। आईपीओ निष्कासनका लागि गराइएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई CARE-NP BB (Issuer Rating) प्रदान गरेको छ। यस रेटिङले कम्पनीको दायित्व वहन गर्ने क्षमतामा मध्यम स्तरको जोखिम रहेको संकेत गर्दछ।
कम्पनीले सञ्चालन गरेको ९.०५ मेगावाट क्षमताको सुपर चेपे जलविद्युत आयोजनाको कुल लागत २ अर्ब ९ करोड ६० लाख रुपैयाँ रहेको छ। यस आयोजनाको प्रतिमेगावाट लागत २३ करोड १६ लाख रुपैयाँ रहेको छ। उक्त आयोजनाको विद्युत उत्पादन अनुमतिपत्रको अवधि अझै ३० वर्ष ११ महिना बाँकी रहेको छ। आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ७ वर्ष ४ महिना रहेको छ भने डिस्काउन्टेड लगानी फिर्ता अवधि १० वर्ष ९ महिना रहेको छ। यस आयोजनाबाट कम्पनीले २०८० माघ ८ गतेदेखि व्यवसायिक उत्पादन सुरु गरी राष्ट्रिय प्रसारण लाइनमार्फत विद्युत बिक्री गर्दै आएको छ। कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ।












