कार्यक्रममा कोशी प्रदेश प्रमुख प्रीति देवले बीमाका सैद्धान्तिक तथा व्यवहारिक पक्षबारे जानकारी दिँदै प्राधिकरणको भूमिका, कर्तव्य र अधिकारबारे विद्यार्थी तथा शिक्षकलाई सुसूचित गराउने उद्देश्य रहेको बताइन्। उनले नेपालको वित्तीय प्रणालीको समग्र परिचय प्रस्तुत गर्दै बीमा क्षेत्रको आवश्यकता र विद्यमान चुनौतीहरूबारे प्रकाश पारिन । देवका अनुसार बीमा क्षेत्रको विकासमा युवाहरूको सक्रिय भूमिका आवश्यक रहेको उल्लेख गर्दै यस्ता कार्यक्रमले विद्यार्थीहरूलाई यसतर्फ आकर्षित गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरिन्।
कार्यक्रमअन्तर्गत हाजिरीजवाफ प्रतियोगिता समेत आयोजना गरिएको थियो, जसले विद्यार्थीहरूमा उत्साह थपेको थियो। समापनका क्रममा सहभागीहरूले उठाएका जिज्ञासाको समाधान गर्दै उनले बीमा क्षेत्रमा दक्ष जनशक्तिको अभाव रहेको उल्लेख गरिन् र यस क्षेत्रमा भविष्यको सम्भावना उज्ज्वल रहेको बताइन्। यसैबीच, प्राधिकरणले सञ्चालन गरेको निबन्ध लेखन प्रतियोगिताबारे पनि जानकारी गराइएको थियो। आगामी दिनमा यस्ता सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता समेत व्यक्त गरिएको छ ।












