फाल्गुन २५ गते छायांकन सुरु भएर काठमाडौं आसपासकै विभिन्न स्थानमा खिचिएको ‘माया भनेकै यस्तो होला’को नियमित छायांकनपछि टुंगिएको फिल्म कोअर्डिनेटर राजन घिमिरेले जानकारी दिए ।
चलचित्र ‘माया भनेकै यस्तो होला’ मार्फत अभिनेत्री रेखा ८ वर्षपछि निर्देशनमा फर्किएकी हुन् । ‘हिम्मतवाली’ र ‘मालिका’ जस्ता फिल्म निर्देशन गरिसकेकी उनको यो तेस्रो निर्देशकीय फिचर सिनेमा हो ।
अभिनयमा नभएर निर्देशनमा मात्र पूर्ण रूपमा केन्द्रित भएकी रेखाले यसपटक आफ्नै ब्यानर ‘रेखा फिल्मस्’ भन्दा बाहिर आएर चलचित्रमा काम गरिरहेकी हुन् । नेपाली चलचित्र इतिहासमा कुनै पनि स्थापित महिला निर्देशकले बाहिरी ब्यानरको चलचित्र निर्देशन गरेको यो सम्भवतः पहिलो पटक हो ।‘दिया एण्ड अमु फिल्मस्’ को ब्यानरमा निर्माण भएको यस चलचित्रमा नेपाली कला क्षेत्रका दिग्गजदेखि वर्तमानका चर्चित अनुहारको जम्बो टोली छ ।चलचित्रमा मदनकृष्ण श्रेष्ठ, दिल श्रेष्ठसँगै पूर्व मिस नेपालहरू सृष्टि श्रेष्ठ, नम्रता श्रेष्ठ र पूर्वमिस नेपाल इन्टरनेसनल नीति शाहको मुख्य भूमिका छ । विशेष भूमिकामा पूर्वमिस नेपाल उषा खड्गीको पनि अभिनय छ । यस हिसाबले चलचित्रमा एक साथ चार मिस नेपाल समेटिएका छन् । ‘दिया एण्ड अमु फिल्मस्’ को ब्यानरमा निर्माण यो चलचित्रमा लक्ष्मी गिरी, विशाल पहाडी, संगम भण्डारी, रवि डंगोल, सुनिता श्रेष्ठ र विनोद पौडेल लगायतको अभिनय छ ।
यसअघि निर्माण पक्षले चलचित्रको औपचारिक घोषण गर्दा दुईवटा पोस्टर सार्वजनिक गरेको थियो । सार्वजनिक गरिएका दुई पोष्टरमा कलाकारहरूको भावुक र रोमान्टिक अवतार देखाइएको थियो ।
एक पोस्टरमा दिल श्रेष्ठको साथमा तीन अभिनेत्रीहरू सृष्टि श्रेष्ठ, नम्रता श्रेष्ठ र नीति शाह देखाइएको थियो । जसमा तीनै अभिनेत्रीहरू रातो रङको पहिरन (लेहेंगा र सारी) मा सजिएका थिए । दिल श्रेष्ठ र नम्रता श्रेष्ठको सामिप्यता झल्किएको छ भने सृष्टि र नीति शाहका भावहरू अलि गम्भीर देखिन्छन् । अर्को पोस्टरमा अभिनेता दिल एक वृद्ध (कलाकार मदनकृष्ण श्रेष्ठ) को साथमा भावुक मुद्रामा समावेश थिए । ह्विलचेयरमा बसिरहेका मदनकृष्ण श्रेष्ठको हात समातेर भुइँमा बसेका दिल श्रेष्ठको मुद्राले सन्तानको कर्तव्य र बुढेसकालको सहाराको कथालाई प्रस्तुत गरिएको थियो । हरि नारायण श्रेष्ठ र माया देवी श्रेष्ठ निर्माता रहेको यस चलचित्रले सुमधुर प्रेम कथाका माध्यमबाट सामाजिक भावना र परिवेशलाई उठान गर्ने बताइएको छ ।
यस चलचित्रमा ध्रुव लम्सालको पटकथा लेखन रहेको छ । १० वर्षपछि लेखनमा फर्किएका उनले स्क्रिप्टमा निकै मिहिनेत गरिएको बताए । सुदीप बरालको छायांकन रहेको चलचित्रमा अनिरुद्ध आत्रेय प्रमुख सहायक निर्देशक, राजन घिमिरे फिल्म संयोजक, संगीत प्रशान्त सिवाकोटी, ड्रेस डिजाइनर सुजेनी मल्ल, मेकअप प्रिया कार्की, प्रोडक्सन चुडामणी (सीएम) छन् । निर्माण टोलीले यस चलचित्रलाई आगामी वर्षको तीजको अवसर पारेर देशभरका हलहरूमा प्रदर्शन गर्ने लक्ष्य राखेको छ ।












