काठमाडौँ। बाढी तथा पहिरोपछि पानीजन्य रोगको जोखिम बढेपछि सरकारले रसुवामा हैजाविरुद्धको २१ हजार डोज खोप पठाएको छ। विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)को सहयोगमा प्राप्त खोप नेपाली सेनाको हेलिकप्टरमार्फत आइतबार बिहान रसुवा पठाइएको हो।
बाढीले खानेपानीका मुहान र वितरण प्रणालीमा क्षति पुगेकाले हैजा तथा अन्य पानीजन्य रोगको जोखिम बढेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। प्रभावित क्षेत्रमा खोप तथा औषधि उपलब्ध गराउने, रोग निगरानी बढाउने, सुरक्षित खानेपानी र सरसफाइमा ध्यान दिने तथा आवश्यक स्वास्थ्यकर्मी परिचालन गर्ने काम अघि बढाइएको छ।

