९ चैत, काठमाडौं। विपद्जोखिम न्यूनीकरणको लागि अतुलनीय योगदान पुर्याएकोमा नेपाल टेलिकम सम्मानित भएको छ । जल तथा मौसम विज्ञान विभागले विभागबाट सम्प्रेषण गरिने पूर्वसूचना सन्देशहरु २०७३ साल देखि अनवरत रुपमा निःशुल्क मास एसएमएस सेवामार्फत सर्वसाधारणमा पुर्याई विपद् जोखिम न्यूनीकरणको लागि अतुलनीय योगदान पुर्याएकोमा नेपाल टेलिकमको भूमिकाको उच्च कदर गर्दै कदर पत्र प्रदान गरेको विज्ञप्तिमा भनिएको हो ।
हिजो (२०८० चैत ८ गते) काठमाडौंमा आयोजित नेसनल वर्कसप अन अर्ली वार्निङ सिस्टम (National Workshop on Early Warning System) कार्यक्रममा जलस्रोत तथा सिंचाई सचिव सुशिल चन्द्र तिवारीले नेपाल टेलिकमलाई सो कदर पत्र प्रदान गर्नुभएको हो ।
नेपाल टेलिकमका हाल देशैभर रहेका दूरसञ्चार पूर्वाधारहरु जल तथा मौसम विज्ञान विभागको (Early Warning System Communication and Dissemination ) प्रयोजनको लागि प्रयोग भइरहेका छन् । यस अनुसार विपद् जोखिम क्षेत्रमा सूचना संकलन र सूचना प्रवाहका लागि यी पूर्वाधारहरु प्रयोग भएका छन् ।
सूचना संकलन अन्तर्गत बाढी पहिरो लगायतका विपद जोखिम क्षेत्रमा रहेकाहरुबाट जल तथा मौसम विज्ञान विभागको केन्द्रीय सर्भरमा मौसम सम्बन्धी सूचना संकलनको लागि नेपाल टेलिकमका सिमकार्डमार्फत एमटुएम प्रविधिको प्रयोग गरी कनेक्टिभिटी उपलब्ध रहेको छ । नेपाल टेलिकमले यसका लागि ३०० एमबी डाटा सुविधा सहितको सिमकार्ड उपलब्ध गराएको छ ।
त्यसैगरी सम्बन्धित क्षेत्रमा रहेका नागरिकहरुमा सम्भावित जोखिमबाट सतर्क गराउन ११४४ कोडबाट पूर्वसूचना प्रवाह गरिरहेको छ । यसका लागि नेपाल टेलिकमले सो क्षेत्रका मोबाइल सेवाका ग्राहकहरुको नम्बर मौसम विज्ञान विभागलाई उपलब्ध गराउदै आएको छ भने सबै सेवा निःशुल्क रुपमा उपलब्ध गराइरहेको छ । विपद्को पूर्वजानकारीले क्षति न्यूनीकरण गर्न सकिने तथा मानवीय क्षति हुन नदिन वा कम गर्न सकिने भएकोले कम्पनी र जल तथा मौसम विज्ञान विभागबीच सहकार्य गरिएको हो । यो सहकार्य २०७३ सालदेखि नै निरन्तर रहेको छ ।











