काठमाडौं । निर्वाचन आयोगले आसन्न स्थानीय तह उप-निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भय रहित वातावरणमा सम्पन्न गर्नका लागि सुरक्षा व्यवस्था प्रभावकारी बनाउन गृह मन्त्रालयलाई निर्देशन दिएको छ । निर्वाचन आयुक्त सगुन शमशेर जबराको संयोजकत्वमा बसेको उच्चस्तरीय निर्वाचन सुरक्षा समिति बैठकले स्थानीय तह उपनिर्वाचन सुरक्षा योजनाको कार्यान्वयन गरी सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन दिएको हो । आयोगले उप-निर्वाचन लाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरहित र सुरक्षित वातावरणमा सम्पन्न गर्न उपयुक्त सुरक्षा व्यवस्था अवलम्बन गरी सार्वजनिक यातायातको सञ्चालन तथा व्यवस्थापन गर्न निर्देशन दिएको छ । मतदानकार्य सम्पन्न भएपश्चात् सोही दिन मतपत्र सहितका मतपेटिका सुरक्षित तवरले मतगणना स्थलसम्म ढुवानी र आवश्यक सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिइएको छ ।
उप-निर्वाचन प्रचार-प्रसार निषेध अवधिमा आचार संहिताको पूर्णपालना गर्न-गराउन, आचारसंहिता पालना भए-नभएको अनुगमन गर्न र निषेधित कार्य भए-गरेको पाइएमा तत्काल कारबाही गर्न पनि आयोगले आग्रह गरेको छ । मंसिर ५ देखि मतगणना कार्य सम्पन्न नभएसम्म उप-निर्वाचन हुने स्थानीय तहभित्र मदिरा-जन्य पदार्थ बिक्री वितरण तथा सेवन नियन्त्रण र सम्बन्धित स्थानीय तहसँग जोडिएका राष्ट्रिय राजमार्गमा सार्वजनिक यातायातका साधनको आवा’गमनको उपयुक्त व्यवस्था मिलाउन आयोगले निर्देशन दिएको छ । निर्वाचनको स्वच्छता, स्वतन्त्रता र निष्पक्षतामा प्रतिकुल प्रभाव नपर्ने गरी सम्बन्धित स्थानीय तहका मतदाताको सहज आवागमनका लागि सार्व’जनिक यातायात सञ्चालनको उपयुक्त प्रबन्ध गर्न पनि आयोगले आग्रह गरेको छ ।रा’स’स।













