काठमाडौं, १७ जेठ। नेपाल प्रहरीको प्रतिनिधित्व गर्दै अखिल नेपाल टेबलटेनिस संघको आयोजनामा काठमाडौं लैनचौरमा संचालन भएको साउथ एसियन रिजनल युथ टेबलटेनिस च्याम्पियनसिप २०२५ मा रजत तथा कास्य पदक हसिल गर्न सफल नेपाल प्रहरीमा आवद्ध टेबलटेनिस खेलाडी शुभश्री श्रेष्ठलाई सम्मान गरिएको छ । प्रहरी महानिरीक्षक दिपक थापाले नेपाल प्रहरी प्रधान कार्यालयमा शुक्रबार आयोजित कार्यक्रमबीच शुभश्री श्रेष्ठलाई प्रशंसापत्र प्रदान गर्नुभयो । सो अवसरमा प्रहरी महानिरीक्षक थापाले शुभश्रीका हजुरबुबा अवकाश प्राप्त प्रहरी वरिष्ठ उपरीक्षक गोवर्धन श्रेष्ठलाई दोसल्ला ओढाई सम्मान गर्नुका साथै अखिल नेपाल टेबलटेनिस संघका अध्यक्ष बृजेन्द्र हमाललाई समेत सम्मान गर्नुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक थापाले नेपाल प्रहरीमा आवद्ध टेबल टेनिस खेलाडी शुभश्री श्रेष्ठले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नेपाल प्रहरी संगठनको छवि उच्च बनाउन निर्वाह गरेको योगदानको प्रशंसा गर्दै आगामी दिनमा थप सफलताको लागि शुभकामना समेत व्यक्त गर्नुभयो । कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक हरू, प्रहरी नायव महानिरीक्षक हरू, वरिष्ठ प्रहरी अधिकृतहरू लगायत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो ।












