काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी औपचारिक रूपमा विभाजन भएको छ। महासचिव विप्लवले हालका दिनमा सत्तारूढ दल नेकपा (एमाले) सँग निकटता बढाएको र क्रान्तिकारी कम्युनिष्ट पार्टीसँगको एकता प्रयासबाट पछि हटेको आरोप लगाउँदै पार्टीभित्र असन्तुष्ट समूहले नयाँ संरचना घोषणा गरेको हो। काठमाडौंमा सम्पन्न राष्ट्रिय भेलाले मिलन सीलाई सर्वसम्मत रूपमा नयाँ महासचिव चयन गरेको छ। भेलाले पार्टीको नाम, विचार र सिद्धान्तलाई निरन्तरता दिँदै पुनर्गठनको घोषणा गरेको नवनिर्वाचित महासचिव मिलन सीले जनाएका छन्। उनले भने,“मुख्य कुरा क्रान्तिकारीहरू बीच एकता हो। हाम्रो पथप्रदर्शक सिद्धान्त माक्सवाद, लेनिनवाद र माओवाद नै हो।” मिलन सीका अनुसार जेन्जी आन्दोलन कुनै नियोजित वा नेतृत्वद्वारा सञ्चालन गरिएको आन्दोलन नभई स्वतःस्फूर्त रूपमा उत्पन्न भएको जनआन्दोलन हो। उनले उक्त आन्दोलनलाई नेपाली जनताको असन्तुष्टि र राजनीतिक बेमेलको स्वाभाविक अभिव्यक्ति भएको बताउँदै त्यसलाई ‘क्रान्तिको नयाँ चेतना’का रूपमा व्याख्या गरे।
यसैबीच, पार्टीका केन्द्रीय सदस्य शरद सीले नेतृत्वले हालै सम्पन्न केन्द्रीय समितिको म्याण्डेट विपरीत कदम उठाएको कारण आफूहरूलाई राष्ट्रिय भेला बोलाउन बाध्य भएको बताए। उनका अनुसार, विप्लवले क्रान्तिकारी धार भन्दा पनि संसदीय शक्तिहरूसँग निकटता बढाउँदै पार्टीको वैचारिक र रणनीतिक दिशालाई कमजोर बनाएका थिए। शरदले भने, “पार्टीले १२ वर्षसम्म भूमिगतदेखि खुला राजनीतिको यात्रा तय गर्यो, तर पछिल्लो समय नेतृत्वले त्यसको मूल उद्देश्य र वैचारिक मार्ग त्याग्न थालेपछि पुनर्गठन अपरिहार्य बन्यो।” उनका अनुसार, नयाँ संरचनामा पार्टीका बहुमत केन्द्रीय सदस्यहरूको समर्थन रहेको दाबी गरिएको छ।
भेलाले ७५ सदस्यीय केन्द्रीय समिति, ७ सदस्यीय स्थायी समिति, १५ सदस्यीय पोलिटब्युरो र ९ जना सल्लाहकारसमेत चयन गरेको छ। साथै, एक महासचिव र एक प्रवक्ताको जिम्मेवारी पनि तोकिएको छ। पार्टीको नयाँ नेतृत्वले जनताको पक्षमा क्रान्तिकारी राजनीति अघि बढाउने र माक्सवाद-लेनिनवाद-माओवादको मार्गमा अडिग रहने घोषणा गरेको छ। नवनिर्वाचित महासचिव मिलन सीले काठमाडौंमा पत्रकार सम्मेलन मार्फत विस्तृत धारणा सार्वजनिक गरेका छन्। उनले पार्टीको पुनर्गठन जनताको अपेक्षा र समयको माग अनुसार गरिएको भन्दै “यो विभाजन होइन, नयाँ क्रान्तिकारी सुरुवात हो” भनेका छन्। यस विभाजनपछि नेपाल कम्युनिष्ट आन्दोलन पुनः दुई धारामा बाँडिएको देखिन्छ एकता बिरोधि विप्लव पक्ष र पुनर्गठित मिलन सी पक्ष। अब आगामी दिनमा यी दुई धाराले कसरी राजनीतिक दिशा लिन्छन भन्नेबारे देशभरका क्रान्तिकारी कार्यकर्ताको ध्यान केन्द्रित भएको छ।













