काठमाडौं, चैत्र २ । काठमाडौंको गोकर्णेश्वरको जोरपाटीमा रहेको विद्यासागर इङ्लिस बोर्डिङ स्कुलको आयोजनामा ‘स्मार्ट प्यारेन्टिङ’ विषयक विशेष अभिभावक सचेतना कार्यक्रम भव्यरूपमा सम्पन्न भएको छ । पीस ब्याङ्क्वेट जोरपाटीमा आयोजित उक्त कार्यक्रममा करिब ६ सयभन्दा बढी अभिभावकहरूको उत्साहजनक सहभागिता रहेको थियो । अभिभावकहरूलाई बदलिँदो समयअनुसार सकारात्मक अभिभावकत्व, बालबालिकाको मानसिक विकास तथा जिम्मेवार मार्गदर्शनसम्बन्धी सचेत गराउने उद्देश्यले कार्यक्रम आयोजना गरेको विद्यालयले जनाएको छ ।कार्यक्रममा विद्यालयका अभिभावकहरू मात्र नभई विभिन्न विद्यालय तथा स्थानीय समुदायका अभिभावकहरूको पनि उल्लेखनीय उपस्थिति रहेको थियो ।
कार्यक्रमका प्रमुख वक्ताका रुपमा रहेका प्रसिद्ध काउन्सिलर तथा मोटिभेशनल स्पिकर अशोक दाहालले आजको डिजिटल युगमा अभिभावकहरूले बालबालिकालाई सही संस्कार, अनुशासन र सकारात्मक वातावरण प्रदान गर्नुपर्ने खाँचो रहेको बताए । उनले बालबालिकाको व्यक्तित्व विकास, आत्मविश्वास वृद्धि तथा सही जीवन मूल्यको निर्माणमा अभिभावकको भूमिका महत्वपूर्ण हुने कुरामा जोड दिए । कार्यक्रममा सहभागी अभिभावकहरूले यस्तो कार्यक्रमले आफूहरूलाई बालबालिकाको व्यवहार, मनोविज्ञान र भविष्यप्रति अझ सचेत र जिम्मेवार बन्न प्रेरणा दिएको प्रतिक्रिया दिए । विद्यालय व्यवस्थापनले यस्ता कार्यक्रमले विद्यालय, अभिभावक र समुदायबीचको सम्बन्धलाई अझ बलियो बनाउने विश्वास व्यक्त गरेको छ । विद्यालयले आगामी दिनहरूमा पनि विद्यार्थीहरूको समग्र विकासका लागि यस्ता शैक्षिक तथा सचेतना मूलक कार्यक्रमहरू निरन्तर आयोजना गरिने जनाएको छ ।












