काठमाडौं। नेपाल टेलिकम ले आफ्ना जीएसएम प्रिपेड तथा पोस्टपेड मोबाइल सेवामा महत्वपूर्ण सुधार गर्दै ग्राहकलाई अब Pay-As-You-Go (PayG) डाटा सुविधा आफैं सक्रिय वा निष्क्रिय गर्न सक्ने व्यवस्था गरेको छ। कम्पनीका अनुसार डाटा प्याकेज खरिद गरेका ग्राहकहरूले अब आफ्नो मोबाइलबाट ८५५५३ डायल गरी PayG सुविधा नियन्त्रण गर्न सक्नेछन्। उक्त नम्बरमा कल गरेपछि ५ नम्बर छनोट गरी क्रमशः १ थिचेर सक्रिय, २ थिचेर निष्क्रिय र ३ थिचेर हालको अवस्था थाहा पाउन सकिने व्यवस्था गरिएको छ।
यसअघि डाटा प्याक सकिएपछि स्वतः मेन ब्यालेन्सबाट डाटा चल्ने र सोही अनुसार शुल्क काटिने व्यवस्था थियो। तर अब PayG सुविधा पहिले नै निष्क्रिय गरेको अवस्थामा प्याकेज समाप्त भएपछि मेन ब्यालेन्सबाट डाटा चल्ने छैन। कम्पनीले यो व्यवस्था ग्राहकहरूको माग तथा सरकारी निर्देशनअनुसार ल्याएको जनाएको छ।
यस्तै, अब डाटा प्याकेजको ९० प्रतिशत खपत भएपछि ग्राहकलाई एसएमएसमार्फत जानकारी गराइनेछ। यसअघि यस्तो सूचना ८० प्रतिशत खपत हुँदा दिइँदै आएको थियो। यो सुविधा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय को निर्देशन तथा नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयअनुसार कार्यान्वयन गरिएको हो। आगामी दिनमा नेपाल टेलिकम एप-मार्फत् पनि PayG सुविधा सक्रिय वा निष्क्रिय गर्न सकिने कम्पनीले जनाएको छ। यसैबीच, ग्राहकहरूको मागअनुसार ३० दिन समयावधिको नयाँ डाटा प्याक पनि सार्वजनिक गरिएको छ। हाल ‘प्रिपेड कम्बो २९९’ नामक प्याक सञ्चालनमा ल्याइएको छ, जसअन्तर्गत २९९ रुपैयाँमा सबै नेटवर्कमा ३०० मिनेट कल, ५ जीबी डाटा र कम्पनीभित्र २० वटा एसएमएस उपलब्ध हुनेछ। कम्पनीले आगामी दिनमा यस्तै ३० दिन अवधि भएका अन्य प्याकहरू पनि ल्याउने तयारी गरेको छ।












