एसिसी प्रिमियर कपअन्तर्गत नेपालले समूह ‘ए’ को अन्तिम खेलमा कतारविरुद्ध खराब ब्याटिङ गरेको छ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर पहिले ब्याटिङ गरिरहेको नेपालले २७ ओभरमा ८ विकेट गुमाइसकेको छ।
नेपालले चार ओभर चल्दै गर्दा दुई विकेट गुमाएको थियो। ओपनर कुशल भुर्तेल दोस्रो ओभरको दोस्रो बलमा २ रनमा आउट भए भने भीम सार्की चौथो ओभरको तेस्रो बलमा ६ रनमा आउट भए।
नेपालका सुरुवाती दुवै विकेट कतारका गयान मुनवीराले लिए।
ओपनिङ ब्याट्सम्यान आसिफ शेख १९ रन बनाएर १२.४ ओभरमा आउट भए। कप्तान रोहितकुमार पौडेल चौथो विकेटको रुपमा २७ रन बनाएर आउट भए। उनले ३६ बलमा २ चौका प्रहार गरे।
कुशल मल्ल पाँचौ विकेटको रुपमा १७.१ ओभरमा आउट भए। उनले ३ रन मात्र जोड्न सके।
यस्तै सोमपाल कामी ११ रनमा आउट भए। नेपालले २१ ओभरमा ६ विकेट गुमाउँदा ८४ रन जोडेको स्थिति थियो। सातौं विकेटको रुपमा आरिफ शेख ११ रनमा आउट भए। उनी २६.२ ओभरमा आउट हुँदा नेपालले १०२ रन जोडेको स्थिति छ।
यस्तै दीपेन्द्रसिंह ऐरी चार बलपछि आउट भए। उनले १२ रन मात्र जोड्न सके।
बलिङमा कतारका अमिर फारुकले ३ विकेट लिए। मुनवीरा र ओवाइस अहमेदले २-२ विकेट हात पारे।
नेपालका लागि अहिले दीपेन्द्रसिंह ऐरी र गुल्शन झा ब्याटिङ गरिरहेका छन्।
नेपाली टिम : कुशल भुर्तेल, आसिफ शेख, भीम सार्की, कुशल मल्ल, रोहितकुमार पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, सोमपाल कामी, गुल्शन झा, सन्दीप लामिछाने र ललितनारायण राजवंशी।
समूह चरणमा अपराजित नेपालले पहिलो खेलमा मलेसिया र दोस्रो खेलमा ओमानलाई पराजित गरेको थियो।
नेपाल र साउदी अरेबियाबीचको मुलपानी मैदानमा तय भएको तेस्रो खेल वर्षाका कारण रद्द भएको थियो। रद्द भएर अंक जोडेसँगै नेपाल सेमिफाइनलमा पुगेको थियो।
यो समूहबाट नेपालबाहेकका अरु खेलमा जित निकालेको ओमान ६ अंक जोडेर सेमिफाइनलमा पुगिसकेको छ। ५ अंक जोडेको नेपालले पनि सेमिफाइनलमा स्थान पक्का गरेको अवस्था छ।
आजको खेलमा जित हात पारे नेपाल समूह विजेता बन्नेछ। समूह विजेता भएको अवस्था नेपालले सेमिफाइनल खेल शनिबार कीर्तिपुर मैदानमा खेल्नेछ।
समूह ‘बी’ बाट युएई अन्तिम चारमा पुगेको छ। आज हङकङ र कुवेतबीचको खेलपछि अन्तिम चारमा पुग्ने अर्को टिमको टुंगो लाग्नेछ। नेपालले आजको खेलमा जित हात पारे यो समूहका उपविजेतासँग खेल्नेछ। यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?