३० साउन,काटमाडौं। मुगु, सोरू गाउँपालिका-७ चिप्लेगौडामा सोरूकोटबाट सदरमुकाम गमगढीतर्फ जाँदै गरेको ज.१ च ७७६२ नम्बरको बोलेरो जिप सडकबाट करिब २ सय मिटर तल खसेर सोमबार दिउँसो दुर्घटना हुँदा जिपमा सवार ५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा हुम्ला सर्केगाड गाउँपालिका-२ रिपगाँउ बस्ने २२ वर्षीय राम परियार, सोही ठाउँ बस्ने २२ वर्षीय प्रकाश बोहोरा, २० वर्षीय राम परियार, २२ वर्षीय पिउस परियार र मुगु सोरू गाउँपालिका-५ बस्ने ३७ वर्षीय लोकजंग नेपाली रहेका छन् । साथै दुर्घटनामा घाइते भएका जिपका चालक समेत ४ जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
सिरहा, भगवानपुर गाउँपालिका-२ डोमराहा टोलस्थित सडकमा हाल नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट साइकलयात्री सोही ठाउँ बस्ने ६५ वर्षीया देवकी देवी यादवको सोमबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको प्राथमिक स्वास्थ्य केन्द्र भगवानपुर हुँदै प्रादेशिक अस्पताल लहानमा उपचारको क्रममा मृत्यु भएको हो । फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ ।
नुवाकोट, बिदुर नगरपालिका-५ तल्लो पिपलटारस्थित सडकमा बा.९१ प ६६५७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोमबार राति दुर्घटना हुँदा चालक सोही ठाउँ बस्ने २८ वर्षीय कबिन कुमालको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल त्रिशुली नुवाकोटमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अन्य १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
महोत्तरी, पिपरा गाउँपालिका-३ स्थित सडकमा प्रदेश २-०२-००४ प ४९१८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोमबार राति दुर्घटना हुँदा चालक महोत्तरी गाउँपालिका-३ मडई बस्ने ३५ वर्षीय श्रवण कुमार भण्डारीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको न्यूरो अस्पताल जनकपुर धनुषामा उपचारको क्रममा मृत्यु भएको हो ।