काठमाडौं, वैशाख २० । पेशागत महासङ्घ नेपालका राष्ट्रिय समितिका अध्यक्ष पुण्यप्रसाद ढकालले सरकारले ट्रेड युनियनलाई हेर्ने नजर राम्रो नभएकोमा आपत्ति जनाएका छन् । उनले सरकार ट्रेड युनियन र ट्रेड युनियनकर्मीप्रति सुरुदेखि नै नकारात्मक हुनु सरकारको लागि नै राम्रो संकेत नभएको भन्दै चिन्ता व्यक्त गरेका छन् । १३८ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे १) को अवसरमा काठमाडौंमा आयोजित पेशागत महासङ्घद्वारा काठमाडौंमा आयोजित ‘ट्रेड युनियन अधिकार र सुरक्षा’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारले पछिल्लो समयमा लिइरहेको बाटो गलत भएको बताए । ‘सरकार सही बाटोमा हिँडेको छैन भन्नेमा म प्रष्ट छु, सरकारले हामीले पाइरहेको ट्रेड युनियन अधिकारमाथि हमला गरेको छ, यो कुराले सरकारलाई राम्रो गर्दैन’ अध्यक्ष ढकालले भने ‘सरकार यतिसम्म निरंकुश भएर आउँछ होला भन्ने लागेको थिएन, यदि सरकार अझै अराजक हुँदै गयो भनें देशभरका ट्रेड युनियनकर्मीहरु सरकारको विरोधमा सडकमा निस्किन्छन् ।’ अध्यक्ष ढकालले सडकमा ट्रेड युनियनकर्मीहरु उत्रिनु भनेको सरकारको लागि सबैभन्दा ठूलो खतरा भएकाले सरकारले यसबारेमा आजै सोच्नुपर्ने बताएका छन् । ढकालले सरकारले अघि सारेको एक सय बूँदे सुशासनको मार्गचित्रमा ट्रेड युनियन खारेज गर्ने विषय पनि समेटिएकोमा आपत्ति जनाए ।
उनले संविधानले नै दिएको अधिकार कटौती गर्ने सरकारको पनि अधिकार नभएको पनि स्पष्ट पारे । उनले सरकारले पछिल्लो समयमा सबै क्षेत्रमा हात हालेर आफूलाई कमजोर बनाइरहेको आरोप पनि लगाए । कार्यक्रममा विभिन्न संघसंगठनका प्रतिनिधिले ट्रेड युनियन अधिकारका बारेमा धारणा राखेका थिए । २६ वटा घटक मिलेर बनेको पेशागत महासङ्घले बेलामौका ट्रेड युनियनका विषयसँगै अन्य आवश्यक विषयमा छलफल र अन्तरक्रिया गर्दै आएको छ । सरोकारवालाले सरकारले ट्रेड युनियन अधिकार कटौती गरे सरकारविरुद्ध जस्तो पनि संघर्ष गर्ने बताएका थिए । कार्यक्रममा पत्रकारहरुलाई पनि छलफलमा प्रतक्ष्य सहभागी गराइएको थियो । ट्रेड युनियनकर्मीका विभिन्न समूहसँग पत्रकारहरुले साक्षात्कार गरेका थिए । पत्रकारहरु गंगा बराल, श्रीकृष्ण न्यौपाने, केशव भूल, माधव तिवारीले समूहगत रुपमा कार्यक्रममा सम्बन्धित विषयमा प्रश्न गर्दै साक्षात्कार गरेका थिए । पत्रकारलाई प्रतक्ष्य रुपमा सहभागी गराएर अन्तरक्रिया गराउनु सकारात्मक रहेको सहभागीहरुले बताएका थिए ।











