काठमाडौं, ४ असोज। महोत्तरी, जलेश्वर नगरपालिका-१ स्थित महादेव मन्दिर नजिकबाट अवैध लागूऔषध गाँजा करिब २ सय १० केजीसहित धादिङ थाक्रे गाउँपालिका-७ बस्ने २३ वर्षीय जिवन तामाङलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिएको प्रहरीले बागमती प्रदेश ०१-०२६ च ४९२१ नम्बरको पिकप गाडीलाई जाँच गर्ने क्रममा गाडीभित्र लुकाई छिपाई १४ वटा पोकामा रहेको उक्त परिमाणको गाँजा फेला पारी गाडीका सहचालक तामाङलाई पक्राउ गरेको हो । साथै हाल फरार गाडीका चालकको प्रहरीले खोजी गरिरहेको छ ।
मकवानपुर, हेटौंडा उपमहानगरपालिका-११ थानाभर्याङबाट अवैध लागूऔषध गाँजा १० केजी ३ सय ५० ग्रामसहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पर्सा मधुवन गाउँपालिका-२ बस्ने ४० वर्षीया सलामा खातुन र मकवानपुर हेटौंडा उपमहानगरपालिका-१५ बस्ने ३२ वर्षीय सामुएल प्रजा रहेका छन् । अस्थायी प्रहरी पोष्ट थानाभर्याङबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मनहरीबाट वीरगंजतर्फ जाँदै गरेको ना.६ ख १५८६ बसमा सवार सलामाको साथबाट ३ केजी १ सय ग्राम र ग.७ ख २२४० नम्बरको बसमा सवार सामुएलको साथबाट ७ केजी २ सय ५० ग्राम गाँजा फेला पारी पक्राउ गरेको हो ।
कैलाली, धनगढी उपमहानगरपालिका-१ नैनादेवी चोकबाट अवैध लागूऔषध ब्राउनसुगर ६ सय ८० मिलिग्रामसहित बाजुरा बुढीगंगा नगरपालिका-६ बस्ने २० वर्षीय देवेन्द्र लुहारलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
बाँके, कोहलपुर नगरपालिका-१ कौशिलानगर बस्ने २३ वर्षीय प्रकाश बिकलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १५ ग्राम १६ मिलिग्रामसहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले प्रकाशको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।
यसैगरी बाँके, नेपालगंज उपमहानगरपालिका-१४ बाबुगाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५० ग्रामसहित डुडुवा गाउँपालिका-६ बस्ने २८ वर्षीय उदय राज मौर्यालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय नेपालगंज, लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंज र लुम्बिनी प्रदेश अनुसन्धान समुहबाट खटिएको संयुक्त टोलीले युपि ४० एएफ ५३७३ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा चालक उदयलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । सबै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।