१६ कात्तिक ,काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालय सवारी महाशाखाले ३० जना प्रहरी कर्मचारीहरुलाई हेभि सवारी चालक तालिम प्रदान गरेको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा उक्त महाशाखामा संचालित हेभि सवारी चालक तालिम १४ औं समूह अन्तर्गत उनीहरूलाई उक्त तालिम प्रदान गरिएको हो । सोही महाशाखामा बिहीबार आयोजित तालिम समापन कार्यक्रममा महाशाखाका प्रहरी उपरीक्षक ई. कमलेन्द्र लाल कर्णले प्रशिक्षार्थीहरु तथा प्रशिक्षकलाई प्रमाणपत्र वितरण गर्नुभयो ।
उक्त अवसरमा प्रहरी उपरीक्षक कर्णले संगठनको आवश्यकता अनुसार भित्रिएका नविनतम प्रविधिका विभिन्न किसिमका हेभी सवारी साधनहरू चलाउन तथा परिचालन गर्नको निमित्त तालिम प्रदान गरिएको बताउनुभयो । प्रशिक्षार्थीले तालिमबाट प्राप्त गरेका ज्ञान, सिप र दक्षतालाई आ-आफ्नो कार्यक्षेत्रमा त्रुटिरहित ढंगबाट कार्यसम्पादन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।कार्यक्रममा तालिम संयोजक प्रहरी नायव उपरीक्षक अनुप श्रेष्ठले तालिम सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्दै गत असोज ४ गतेबाट संचालित ३० कार्यदिन अवधि रहेको उक्त तालिममा प्रहरी सहायक हवल्दार १६ जना र प्रहरी जवान १४ जना गरी कूल ३० जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको जानकारी दिनुभयो ।