६ माग , काठमाडौं । नुवाकोट दरबार सरोकार समाजको आयोजनामा नुवाकोट दरबार परिसरमा आज शनिवार साहित्य तथा सम्पदा संरक्षण परिचर्चा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै नुवाकोट दरबार संरक्षण अभियन्ता रामलाल श्रेष्ठले वि•सं• २०७२ महाभूकम्प पश्चात् नै आफूहरूले नुवाकोट दरबारको पुननिर्माणको महत्त्वलाई ध्यानमा राखेको किन्तु आजतक बेवास्ताको शिकार बनेको दुखेसो व्यक्त गरे । नुवाकोट विजय गरिसकेपछि यसैलाई राजधानी बनाएर पृथ्वी नारायण शाहले राजधानीमाथि आधिपत्य जमाएको यो ठाउँ यतिखेर खण्डहर बने पनि सम्बन्धित निकाय बेखबरझैँ भएकोमा उनले असन्तोष प्रकट गरे । पाँचवटा दरबार परिसरमध्ये तीनवटा योभन्दा अगावै विश्व सम्पदा-सूचीमा सूचीकृत भइसकेका र बाँकी दुईमध्ये नुवाकोटले भरमग्दुर प्रयत्न गरेको खुलासा गरे । इतिहासलाई न्याय गर्ने हो भने यसलाई प्रदेस राजधानी बनाइनुपर्नेमा पनि उनको जोड थियो । यसबारे सबै तह र तप्काबाट आवाज बुलन्द गर्नुपर्ने उनको राय थियो ।
अर्का अभियन्ता गौतममान सिंह डङ्गोलले साहित्यकारहरूले नुवाकोट दरबारको भग्नावशेषबारे आआफ्ना रचनामा समाविष्ट गर्न आग्रह गर्दै राज्यको बेवास्ताप्रति रोष प्रकट गरे । साततले दरबार र तलेजु मन्दिर बनाउन चिनियाँ सरकार तयार भएको भनिए पनि आजसम्म कार्यरूप नदिइएकोमा उनको आक्रोश थियो । तर अन्य संरचनाबारे आजसम्म के हुने भन्ने संशय रहेको उनको कथन थियो । मूलतः स्थानीय जनता सोझा हुनुको परिणाम आजतक यी सम्पदाले सम्बन्धित निकायको ध्यान आकृष्ट गर्न नसकेको उनको आशङ्का थियो । नुवाकोट स्वयम्भू महाचैत्य लिच्छवीकालीन रहेको भन्दै यसको पुनः निर्माणमा आफू पूर्णतः होमिएको उनको कथन थियो । यसलाई उनले नेवार बस्तीको स्वयम्भूको रूपमा व्याख्या गरे ।
गाउँ पर्यटन प्रवर्धन मञ्च नेपाल (भिटोफ-नेपाल) का अध्यक्ष तथा पर्यटन व्यवसायी गोपाल थापाले आकर्षण बोकेका किन्तु प्रचारप्रसारको अभावले पछि परेका ग्रामीण क्षेत्र तथा घरबासलाई प्रचारप्रसार गर्दै हरयाम आन्तरिक पर्यटनलाई बढावा दिने आफूहरूको अभीष्ट भएको भनाइ राखे । उनले यस्तो महत्त्वपूर्ण कार्यक्रममा स्थानीय सरकारको उपस्थिति नहुनु अत्यन्त गैरजिम्मेवारी भएको उल्लेख गर्दै सम्पदा संरक्षणमा सबैभन्दा मुख्य भूमिका स्थानीय सरकारकै हुनुपर्ने उनको राय थियो । उनले स्थानीय सरकारले पर्यटन सम्बन्धी ऐन निर्माण गर्न सके नुवाकोटको नुर उठाउन सबै एकजुट हुनुपर्ने अभिमत राखे ।
भिटोफ- नेपालका पूर्व अध्यक्ष तथा वरिष्ठ पर्यटन व्यवसायी बोधराज भण्डारीले पर्यटन र साहित्यलाई कसरी जोड्न सकिन्छ भन्नेबारे आफ्नो सारगर्भित भनाइ राख्दै सम्पदा र साहित्य नङ र मासुजस्तै हुने जिकिर गरे । नियात्राकार राजेन्द्रमान डङ्गोलको दृष्टान्त दिँदै थुप्रै साहित्यकारहरू पर्यटन विकासमा खम्बाझैँ दृढतापूर्वक खडा भएको उनको कथन थियो।
स्तम्भकार तथा समालोचक कुमारी लामाले नुवाकोट दरबारले यो क्षेत्रलाई आर्थिक जीवन्तता दिएकोमा सदरमुकामलाई यहाँबाट स्थानान्तरण गरिनु कतै आदिवासी जनजातिको विपक्षमा भएका चलखेल त थिएन भनेर आशङ्का व्यक्त गरिन् । राजेन्द्रमान डङ्गोलले आफ्ना कृतिमा आन्तरिक पर्यटकलाई आकर्षण गर्न अतुलनीय भूमिका निर्वाह गरेको बताउँदै यतिको महत्त्वपूर्ण सम्पदालाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न थप पहल गर्न उनले अनुरोध गरिन् ।
विशेष अतिथि विदुर नगरपालिका वार्ड नं•-२ का अध्यक्ष दीपक कायस्थले यस्तो कार्यक्रमको संयोजन गरेकामा आरएम डङ्गोलप्रति आभार प्रकट गरे । दरबार निर्माणमा चिनियाँ पक्षले गरेको ढिलासुस्तीप्रति क्षोभ व्यक्त गर्दै उनले आफूले पुनःनिर्माणलाई शीघ्रातिशीघ्र अघि बढाउन विभिन्न मन्त्रालयसँगसमेत समन्वय गरिराखेको अवगत गराए । उनले साहित्यकारहरूको कलम आफूहरूको अभियानलाई अभिप्रेरणा दिने ढङ्गले चल्नेमा ढुक्क भएको बताए ।
प्रमुख अतिथि विश्वविमोहन श्रेष्ठले सम्पदा संरक्षण तथा पुनःनिर्माणबारे सङ्क्षिप्तमा आफ्नो भनाइ राख्दै राष्ट्रिय एकता सम्बन्धी समसामयिक एवम् विचारोत्तेजक व्यङ्ग्य कविता प्रस्तुत गरे । धन्यवाद ज्ञापनका सिलसिलामा कवि तथा समालोचक आरएम डङ्गोलले सम्पदा संरक्षणका दर्मियानमा आफूहरूले गरेका कामको फेहरिस्त प्रस्तुत गरे । उनले सम्पदा संरक्षण सम्बन्धी एउटा पत्रिका प्रकाशन गर्ने उद्घोष गर्दै भग्न दरबारको आक्रोश अभिव्यक्त गर्ने रचना ‘साततलेको आत्मकथ्य’ वाचन गरे ।
राजेन्द्र घिमिरे ‘सागर’ले सम्पदा संरक्षणसँग सम्बन्धित तीनवटा मुक्तक सुनाए । त्यसरी नै कवि माधव घिमिरे ‘अटल’ले हालै इजरायली आततायी आक्रमणमा मारिएका कवि रफात अलिरको अन्तिम कविता ‘कथं म मरे भने’ वाचन गरे भने लक्ष्मी रूम्बाले ‘पन्जाभित्र मैच्याङ’ शीर्षकीय कवितामा बेचिएका चेलीहरूको पीडा बोलिन् । कवि ठाकुर बेल्वासेले दुइटा छोक सुनाए । कवि भीष्म उप्रेतीले ‘भित्र’ शीर्षकीय रचना वाचन गरे । कवि तथा आख्यानकार विधान आचार्यले ‘पृथ्विसित’ शीर्षकीय छन्द कविता सुनाए । शब्दपथका सम्पादक तथा मूर्धन्य साहित्यकार किशोर पहाडीले सम्पदा संरक्षण सम्बन्धी आफ्नो रचना पस्के ।
विशेष अतिथि दीपक कायस्थले आमन्त्रितअभ्यागतहरूलाई दरबार अङ्कित मायाको चिनो अर्पण गरे । स्थानीय शिक्षक रामहरि आचार्यले नुवाकोटको प्रामाणिक साहित्यिक इतिहास साथै पुरातात्विक विषयसहित स्वागत मन्तव्य राखेको उक्त कार्यक्रमको सहजीकरण चर्चित नियात्राकार राजेन्द्रमान डङ्गोल र समापन आफ्नो सङ्क्षिप्त मन्तव्यसहित कुशबहादुर डङ्गोलले गरेका थिए ।












