५ भदौ , काठमाडौं । सुनको भाउले आज अर्को नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको भाउ प्रतितोला ८०० रुपैयाँले बढेर १ लाख ५३ हजार रुपैयाँ कायम भएको छ । यसअघि भदौ २ गते सुनको मुल्यमा रेकर्ड कायम भएको थियो । सो दिन छापावाल सुन प्रतितोला १ लाख ५२ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । मंगलबार भने छापावाल सुन प्रतितोला १ लाख ५२ हजार २०० रुपैयाँ कायम रहेको थियो ।
पछिल्लो समय अमेरिकी अर्थतन्त्रमा देखिएको सुधार र सेयर बजारको वृद्धिले गर्दा विश्व बजारमै सुनको माग बढिरहेको अनुमान गरीएको छ । यस्तै, अमेरिकी डलर मजबुत बन्दै जानु, चीनले सुन भण्डारन बढाउनु लगायतका कारणले पनि सुनको भाउ अन्तर्राष्ट्रिय बजारमानै बढेको विश्लेषकहरुको भनाई छ । यता, आज चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले बढेर १८ सय ३५ रुपैयाँ कायम भएको छ । यसअघि मंगलबार चाँदीको भाउ प्रतितोला १८ सय २० रुपैयाँ रहेको थियो ।











